माबिलुङ्ग इनर्जीको पहिलो चरणको आईपीओ आजदेखि निष्कासनमा, आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउने

Share News

काठमाडौं । माबिलुङ्ग इनजी लिमिटेडले असार २२ गते (आज) देखि पहिलो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८ दशमलव ९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये जारी पूँजीको १० प्रतिशत आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा जारी हुने शेयमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । यी शेयर खरीदका लागि संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्कासन हुन लागेको हो । दुबै तर्फको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 
आयोजना प्रभावित स्थानीयमा निष्कासन मिति छिटोमा साउन ४ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १९ गतेसम्म निष्कासन लम्बिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ४ गतेभित्र आवेदन दिनु पर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादि नगरपालिका वडा नं. ७ बाट आवेदन दिन सक्नेछन् । स्थानीयले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् ।

साथै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर सिंगल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ । हाल यस आयोजनको ९७ प्रतिशत काम सम्पन्न भैसकेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।