काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार २२ गतेसम्म मात्र आईपीओ निष्कासन गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशतका दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ ६ गतेदेखि २० गतेसम्म निष्कासन गरी असार ५ गते बाँडफाँट गरिएको हो ।
यीबाहेक बाँकी शेयरमध्ये ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ । सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ । आवेदनका लागि भने विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले गोरखा जिल्लामा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन तथा विक्री गरिरहेको छ ।
उक्त आयोजनाबाट २०७९ फागुन १७ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको हो । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी छ ।
यस आयोजनको विद्युत उत्पादन अनुमतिपत्र २१११ पुस २८ गतेसम्म बहाल रहनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।