काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिनसम्म २१ लाख २० हजार ८५७ जनाले भरेका छन् ।
कम्पनीले सर्वसाधारणमा असार १८ गतेदेखि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको हो ।
अन्तिम दिन असार २२ गतेसम्म यी आवेदकहरूबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता शेयर माग भएको हो । जुन मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन हुन आउँछ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशतका दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ ६ गतेदेखि २० गतेसम्म निष्कासन गरी असार ५ गते बाँडफाँट गरिएको हो ।
यीबाहेक बाँकी शेयरमध्ये ७० हजार ९१० कित्ता कर्मचारीहरूका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।