काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चैत ११ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि कम्पनीले गरेको छ ।
बोनस शेयर र हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
हकप्रद शेयर निष्कासनका लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।