काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर सिफारिश गर्न गठन गरेको समितिका सदस्य विश्व पौडेल राजीनामा दिएसँगै नियुक्ति प्रक्रिया थप विवादमा परेको छ ।
पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसले प्रस्ताव गरेको चर्चासँगै उनले राजीनामा गरेका छन् । आइतवार अर्थमन्त्रीको सचिवालयले पौडेलले राजीनामा दिएको पुष्टि गरेको छ ।
गभर्नर सिफारिश गर्न सरकारले चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नरबाट विजयनाथ भट्टराई र विज्ञबाट विश्व पौडेल सदस्य तोकिएका थिए ।
सिफारिश समितिको बैठक १ महीनासम्म पनि बस्न नसकेको, राजनीतिक सहमति गरी समितिलाई रबरस्ट्याम बनाइएको भन्दै सदस्य भट्टराईले वैशाख ९ मा राजीनामा दिएका थिए ।
भट्टराईको राजीनामापछि सरकारले समितिमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई ल्याए पनि पुनर्गठित गभर्नर सिफारिश समितिको पनि बैठक बस्न सकेको थिएन ।
गभर्नरमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई सिफारिश गर्न सत्तारूढ घटक नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राजनीतिक सहमति बनेको स्रोतहरूले यसअघि बताएका थिए ।
गभर्नर नियुक्ति प्रयोजनका लागि भट्टले कार्यकारी निर्देशकबाट दिएको राजीनामा कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिनाले स्वीकृत नगर्दा प्रक्रिया अघि बढ्न सकेन । ढुंगाना आफै गभर्नरका लागि लबिइङ गरिरहेकी छन् ।
यसैगरी गभर्नर नियुक्तिको विषयमा सर्वोच्च अदालतमा दुईओटा मुद्दा पनि चलिरहेका छन् । अर्थ मन्त्राललयले गरेको उमेर हद मापदण्ड संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएकै बेला आइतवार नै सिफारिश समितिका सदस्य अधिकारीविरुद्ध पनि रिट दर्ता भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक मञ्चबाटै गभर्नर आफ्नो पार्टीको सिफारिशमा बन्ने सहमति भएको घोषणा गरेपछि सिफारिश समितिको औचित्यमाथि पनि प्रश्न उब्जेको छ ।