- गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकले निजी स्वार्थ भएको कुनै प्रस्तावउपर (सञ्चालक) समितिमा छलफल हुने रहेछ भने उक्त छलफल शुरू हुनुभन्दा अगावै निजले त्यसबारेमा समितिलाई जानकारी दिनुपर्ने र उक्त छलफलमा त्यस्तो सञ्चालकले भाग लिन नपाउने व्यवस्था राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ मा छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले बुधवार सार्वजनिक गरेको सम्पत्ति विवरणमा सानिमा बैंक लिमिटेडको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक शेयर रहेको उल्लेख छ । उक्त शेयर २ करोड ४४ लाख १७ हजार ६०० रुपैयाँ बराबरको रहेको गभर्नर पौडेलले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
आफैले नियमन गर्नुपर्ने संस्थामा आफ्नै संस्थापक शेयर रहेको खुलासा भएपछि स्वार्थको द्वन्द्वको प्रश्न उठ्न सक्ने सरोकारवालाले बताए । यद्यपि उक्त शेयर स्वामित्व गभर्नर हुनुभन्दा अघिको भएको र उक्त शेयर १ प्रतिशतभन्दा कम रहेकाले स्वार्थको द्वन्द्वको परिभाषाभित्र राख्न नहुने राष्ट्र बैंकका एक अधिकारीले आर्थिक अभियानलाई बताए ।
नेपाल राष्ट्र बैंक ऐनमा केन्द्रीय बैंक सञ्चालक समितिका सदस्यको स्वार्थको द्वन्द्व रोक्न केही प्रावधान राखिएका छन् ।
ऐनको दफा ३२ मा गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक पदमा नियुक्त भइसकेपछि प्रत्येक ६ महीनामा उनीहरुले आफ्नो वा आफ्नो परिवारका सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै व्यापारिक स्वार्थ छ भने सो विषयमा समितिलाई तोकिएबमोजिम जानकारी दिनुपर्ने प्रावधान छ ।
उनीहरुको निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर (सञ्चालक) समितिमा छलफल हुने रहेछ भने उक्त छलफल शुरू हुनुभन्दा अगावै निजले त्यसबारेमा समितिलाई जानकारी दिनुपर्ने र उक्त छलफलमा त्यस्तो सञ्चालकले भाग लिन नपाउने व्यवस्था पनि सोही दफामा गरिएको छ ।
‘राष्ट्र बैंक ऐनअनुसार सानिमा बैंकको विषयमा निर्णय हुँदा गभर्नर पौडेल अनुपस्थित हुन सक्नुहुन्छ,’ राष्ट्र बैकका एक पूर्वउच्च अधिकारीले भने । ऐनको दफा २१ मा वाणिज्य बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत वा त्योभन्दा बढी शेयर वा मतदानको अधिकार भएको व्यक्ति राष्ट्र बैंकको सञ्चालक बन्न नसक्ने प्रावधान छ । गभर्नर तथा डेपुटी गभर्नरले पदमा नियुक्त भएको र पदमुक्त भएको मितिले १ महीनाभित्र आफ्नो एकाघर परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सम्पत्ति विवरणअनुसार उनको र परिवारको नाममा गरी ललितपुर र नवलपरासीमा घरजग्गा, सातओटा कम्पनीको शेयर, ४५ तोला सुन र हीरा तथा बैंक खातामा २० लाख रुपैयाँ मौज्दात छ ।
गभर्नर पौडलले श्रीमती प्रतिभाको नाममा ललितपुर महानगरपालिका–४ भैंसेपाटी र नवलपरासीको गैंडाकोटमा घरजग्गा जोडेका छन् । भैंसेपाटीमा ५ आना २ दाम जग्गामा २ हजार ७९५ वर्गफिटको घर छ । उक्त घर १ करोड ५५ लाख रुपैयाँमा खरीद गरिएको बताइएको छ । गैंडाकोटको घरजग्गाको मूल्य ६० लाख रुपैयाँ उल्लेख गरिएको छ । दुवै सम्पत्ति पैतृक तथा स्वआर्जनबाट खरीद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
गभर्नर पौडेलसँग सुन वा सुनको गहना करीब ४५ तोला र १५ लाख रुपैयाँ बराबरको हीरा रहेको छ । सुन पैतृक सम्पत्ति र हीरा स्वआर्जनबाट खरीद गरिएको विवरणमा उल्लेख छ ।
त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक खातामा २१ लाख नेपाली रुपैयाँ र ४ हजार ५०० अमेरिकी डलर मौज्दात रहेको पौडेलले विवरणमा उल्लेख गरेका छन् ।
गभर्नर पौडेलले विभिन्न कम्पनीमा लगानी गरेका छन् । उनले आफू र श्रीमतीको नाममा सातओटा कम्पनीको शेयर खरीद गरेका छन् । यस्तै श्रीमतीको नाममा सुजुकी कार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।