काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनु भएको छ ।
पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो‚ “राष्ट्रबैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारमा ममात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।”
आजभोलि मेरिटोक्रेसी पनि योजनाबद्ध भएको उहाँको भनाइ छ । ‘जाँच लिएको जस्तो गर्ने, जाँच लिने जाँचकी आफ्नै‚ पेपर काट्ने अन्तर्वार्ता लिने आफ्नै‚ नतिजा निकाल्ने आफ्नै, कसको नाम निकाल्ने हजुर भनेर सोध्ने अनि फलानोको निकाल् भन्ने अनि निकालिदिने आफ्नै,’ उहाँले भन्नुभयो‚ ‘अनि मेरिटोक्रेसीको धाक लगाउने । जाँच लिने भए जाँचै लिउँ तर फेयर्ली गरौं । म एक्लै छैन यो देशमा । म प्रधानमन्त्री हो तर एक्लै त छैन नि !’