काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी एक भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार शुरू गरेका हुन ।
गत असार ३० गते मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरूले ८ महीनामा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू गरेका हुन ।
मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम भने सम्झौता गरेको ६ महीनाभित्र मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यी दुई कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १६ गते र नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयले भने फागुन १९ गते मर्जरका लागि स्वीकृति प्रदान गरेको थियो ।
नेपाल बीमा प्राधिकरणले आगामी चैत महीनाभित्र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाबमोजिम पूँजी वृद्धिका लागि यी दुई कम्पनीले मर्जरको बाटो रोजेका हुन् ।
यस अघि निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा भइसकेको छ ।
हाल सगरमाथा इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १२ दशमलव ४० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको छ । बोनस पछि सगरमाथा इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ४९ करोड ८९ लाख ९८ हजार रुपैयाँ कायम हुनेछ ।
त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि चुक्तापूँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रुपैयाँको आधारमा ६ दशमलव ९९ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभा बाट पारित गरिसकेको छ । बोनस पछि लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ४० करोड ४५ लाख ४७ हजार रुपैयाँ पुग्नेछ ।
दुबै कम्पनीको बोनस शेयर पछिको स्वाप रेसियो अनुसार मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३५ हजार रुपैयाँ कायम हुनेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १०० बराबर ८० शेयर स्वाप रेसियो कायम गर्दै मर्जरमा गएका हुन ।
एकीकृत कारोबार शुरू गरेको दिनदेखिनै दुबै कम्पनीको शेयर कारोबार रोक्का भएको छ । पछिल्लो व्यवस्थाअनुसार एकीकृत कारोबार शुरू भएको बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ ।
मर्जरपछि बनेको कम्पनीको अध्यक्षमा साबिक लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष मुलले सोमवार नै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कम्पनीको सञ्चालकहरूमा साबिक सगरमाथा इन्स्योरेन्सको तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका), सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह), गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) तर्फबाट रहेका छन् ।
यस्तै साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अरुण राज श्रेष्ठ, (संस्थापक समूह) र कमल भटृराई, (सर्बसाधारण समूह) बाट रहेका छन् ।