काठमाडौं । ८ वर्षको अन्तरलामा अर्जेन्टिनी सुपर स्टार लियोनेल मेस्सीले दोस्रोपटक विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।
सन २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा अर्जेन्टिनाले फाइनलमा प्रतिस्पर्धा गरेको थियो । तर उपाधि भने जर्मनीको पोल्टामा परेको थियो ।
९० मिनेटसम्म बराबरीमा चलेको खेल अतिरिक्त समयमा गएपछि जर्मनीका सब्सीच्युट खेलाडी मारियो गोटेजले खेलको ११३ औं मिनेटमा विजयी गोल गरेका थिए ।
२०१८ मा रसियामा आयोजित विश्वकपमा भने अर्जेन्टिना प्रि-क्वाटरफाइनल भन्दा अघि बढ्न सकेन । तर त्यसको ४ वर्षपछि कतारमा आयोजना भएको विश्वकप २०२२ मा अर्जेन्टिनाले पुनः एकपटक फाइनलको यात्रा तय गरिसकेको छ । उसको फाइनलमा प्रतिद्वन्दीको टुंगो लाग्न भने बाँकी छ । डिफेन्डिङ च्याम्पियन फ्रान्स र अफ्रिकी महारथी मोरक्को मध्ये एक टोलीले मेस्सीको सामना गर्ने छ ।
२०१८ मा अर्जेन्टिनालाई अन्तिम १६ बाटै घर पठाउने टोली फ्रान्सले पछि विश्वकपको उपाधि उचालेको थियो । अहिले पनि मोरक्को र फ्रान्सबीचको खेलमा फ्रान्स विजयी भएमा उपाधि रक्षका लागि उसले अर्जेन्टिनाको सामना गर्नु पर्ने छ ।
मेस्सीको टोलीमा मेस्सी बाहेक जुलियन अल्भारेजले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । मेस्सीले ५ गोल गर्दा अल्भारेजको ४ गोल रहेको छ । अल्भारेजले सेमिफाइनलमा मात्रै २ गोल गरेका थिए । मेस्सीलाई गोलरक्षक इमिलियानो मार्टिनेजको पनि बलियो साथ रहेको छ । टिमका अन्य खेलाडीको प्रदर्शन पनि उच्च स्तरको रहनु नै मेस्सीको विश्वकप जित्ने बलियो आधार हुन् । तर फाइनलमा फ्रान्स र मोरक्को मध्ये कुन टोली पुग्छ भन्ने कुराले उसको रणनीति परिवर्तन हुँने देखिन्छ ।