काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले असार १६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय धनगढी, कैलालीमा अपराह्न १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सामाजिक उत्तरदायित्व शीर्षकमा भएका खर्चलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
यो लघुबीमा क्षेत्रको कम्पनी हो । ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्न सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले २०८१ असार २० गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ ।