मान्म । कालीकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ ।
चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको हो ।
सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको रु १ करोड ३० लाख र ऊर्जा प्रवर्द्धन केन्द्रको रु २ करोड ९२ लाख रकम र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बताए । “परियोजनामा जम्मा रु ६ करोड २५ लाख खर्च भएको छ”, उनले भने, “खम्बा गाड्नेलगायत परियोजनाका अन्य काममा नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले सहयोग गरेको छ ।”
गाउँपालिकालाई विद्युतीकरण गर्न सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए । “गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन”, उनले भने, “यहाँ उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ ।”
सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए । “यहाँ उत्पादन भएको विद्युत् प्राधिकरण कालीकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ”, उनले भने, “यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ ।” रासस