काठमाडौं । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्मको केबलकार परियोजना बनाउन लगानी बोर्ड नेपालले लगानी स्वीकृत गरेको छ । ८१ दशमलव ४१ किलोमिटर लामो केबलकार परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन लगानी बोर्ड नेपाल र मुक्तिनाथ दर्शन प्रालिबीच समझदारी भएको झन्डै ७ वर्षमा बोर्डले उक्त परियोजनामा लगानीका लागि स्वीकृति दिएको हो ।
- नेपाली लगानीकर्ताले नै बनाउने
- ५७ अर्ब ६४ करोड लगानी गर्न स्वीकृति, १२ अर्ब मात्र ऋण चाहिने
- ८१.४१ किमीको केबलकार ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य
- वार्षिक ३६ लाख यात्रुलाई सेवा दिने
लगानी बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीवार बसेको बोर्डको ६४औं बैठकले मुक्तिनाथ केबलकारलगायत अन्य जलविद्युत् आयोजना गरेर कुल १ खर्ब १७ अर्ब ४० करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । ती आयोजनामध्ये मुक्तिनाथ केबलकारको स्वीकृत लगानी मात्रै ५७ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यो परियोजना अघि बढाउन २०७५ भदौ अन्तिमतिर लगानी बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुण सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । लगानीकर्ता तथा कम्पनीका अध्यक्ष सुवेदीले ३००–४०० जना नेपाली लगानीकर्ताको लगानीमा यो परियोजना अघि बढाइएको जानकारी दिए । नेपालमा बन्ने यो सबैभन्दा ठूलो केबलकार परियोजना हुनेछ । कम्पनीका अध्यक्ष सुवेदीले कुल लगानीमध्ये करीब १२ अर्ब रुपैयाँ लगानी जुटाउन बाँकी रहेको जानकारी दिए ।
‘कम्पनीमा हालसम्म नेपाली लगानीकर्ता नै छौं, क्राउड फन्डभन्दा पनि हामी धेरै लगानीकर्ता यो परियोजनामा जोडिएका छौं,’ उनले भने, ‘परियोजनामा लगानीका लागि विदेशी लगानीकर्तालाई जोड्ने सोच छैन, किनभने विदेशी मुद्रा (अमेरिकी डलर)मा कर्जा लिनुभन्दा नेपाली बैंकबाट लिन सस्तो पर्ने भएकाले आन्तरिक ऋणलाई नै जोड दिनेछौं ।’
उनका अनुसार यो केबलकार परियोजनामा हालसम्म ८० करोड रुपैयाँ लगानी भइसकेको छ । केबलकार निर्माणका लागि जग्गा खरीद भइसकेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार भइसकेको छ । ‘अहिले बातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को तयारी भइसकेको छ,’ उनले भने, ‘वन तथा वातावरण मन्त्रालयले जति छिटो इआइए स्वीकृत गर्छ, त्यति नै छिटो निर्माण शुरू गरिनेछ ।’
उक्त केबलकार परियोजना बनिसकेपछि कम्पनीले वार्षिक ३६ लाख पर्यटक तथा यात्रुलाई सेवा दिने लक्ष्य राखेको सुवेदीले जानकारी दिए । स्थानीय वा अन्य अवरोध नभएमा ४ वर्षभित्र केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । उनका अनुसार कम्पनीले उक्त स्थानमा केबलकार निर्माण तथा सञ्चालनको मात्रै इजाजत (लाइसेन्स) लिएको छ ।
बोर्डका अनुसार उक्त केबलकारको शुरू स्टेशन बिरेठाँटी, घोरेपानी, तातोपानी, लेते–मार्फा ट्रान्जिट भएर जोमसोम, कागबेनी र मुक्तिनाथ अन्तिम स्टेशन रहनेछन् । उक्त केबलकारमा ७७६ गोन्डोला हुनेछन् ।
बिहीवार बसेको बोर्डको बैठकले २१६ मेगावाट (मेवा)को बझाङ माथिल्लो सेती जलविद्युत् परियोजना, ४४ मेवाको बकान खोला जलविद्युत् परियोजना, ४३ दशमलव २ मेवाको छिलुङ खोला जलविद्युत् परियोजना गरी ३०३ दशमलव २ मेवा जडित क्षमता भएका परियोजनाको कुल ५९ अर्ब ७६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । साथै बझाङ माथिल्लो सेती जलविद्युत् परियोजना तथा मुक्तिनाथ केबलकार परियोजनाको परियोजना विकास सम्झौताको शर्तलगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा अलग–अलग वार्ता समिति गठन गर्ने निर्णयसमेत गरिएको छ ।