काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा गरेको वित्तीय साक्षरता कार्यक्रममा ५५ महिला उद्यमीले भाग लिएका छन् । नगरपालिकाको वडा नम्बर ५ मा महिला उद्यमीलाई लक्ष्य गरी ‘सिद्धार्थ बैंक महिला उद्यमी वित्तीय साक्षरता कार्यक्रम’ सोमवार सम्पन्न भएको हो ।
लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बैंकले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
न्यू बिजनेश एज लिमिटेडको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा सहभागी महिला उद्यमीलाई नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिमप्राप्त प्रशिक्षक किरण काफ्लेले प्रस्तुतीकरण दिएका थिए ।
उक्त कार्यक्रममा लक्षित वर्गमा वित्तीय सेवासम्बन्धी ज्ञान, वित्तीय योजना, बचत, लगानी, ऋण व्यवस्थापन, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषणसम्बन्धी विषयमा जानकारी दिनुका साथै वित्तीय साक्षरतासम्बन्धी सन्देशमूलक सामग्री प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सिद्धार्थ बैंक लिमिटेडको योगीकुटी शाखाका शाखा प्रबन्धक लक्ष्मीप्रसाद ज्ञवालीले महिला उद्यमीले राखेका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र वडा नं. ५ का वडाअध्यक्ष रमेश डुम्रेको सहभागिता रहेको थियो ।
बैंकले वित्तीय साक्षरतालाई सधैं प्राथामिकतामा राख्दै आएको बताउँदै यस आर्थिक वर्षको वैशाखसम्ममा विभिन्न समयमा ८० कार्यक्रममार्फत ३ हजार ६८८ लक्षित वर्गमा वित्तीय साक्षरता कार्यक्रम (बैंक शाखा भ्रमणसहित) आयोजना गरिसकेको बताएको छ । ‘आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ,’ बैंकले विज्ञप्तिमा भनेको छ ।