गोलबजार । सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमीटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्नेछ ।
सडक शुरु हुने बित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठूलो फरक पर्ने व्यवसायीको भनाइ छ । स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए । पहाडको उत्पादन तराईतर्फ र तराईको उत्पादन पहाड पठाउन सजिलो हुने उनको भनाइ छ ।
युवा तथा खेलकुद विकासमन्त्री एवं सप्तरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तेजुलाल चौधरीले सडक निर्माण कार्यको शिलान्यास शुक्रवार गरेका थिए । उनले शहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारीसाधन आवागमनमा सहजताका लागि नयाँ ट्रयाक खोल्न थालिएको बताए ।
मन्त्री चौधरीले पहाडबाट सीधै तराई आउनेका लागि कल्याणपुर बजार राम्रो गन्तव्य बन्ने बताए । यहाँका स्थानीयका लागि आफ्नै व्यापार र कृषि उत्पादनका सामग्री सजिलै ओसारपसार गरी आयआर्जन बढाउन सक्ने उनको भनाइ छ ।
चालू आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु ८ करोड ४५ लाख २० हजार ८५० बजेटबाट मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँले रु ४ कारोड ४० लाख ९ हजार ४३९ भ्याटसहित ठेक्का सम्झौता गरेको छ । विसं २०८२ वैशाख २५ गते सम्झौता भई असार ३० गतेसम्म कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर चन्द्रकान्त चौधरीले जानकारी दिए ।
उनले सडकमा पर्ने रूख काट्न वन कार्यालयले स्वीकृति समयमा नदिँदा सडक निर्माण कार्य बढाउन ढिलाइ भएको बताए । वन कार्यालयले सडकमा पर्ने रुख काट्न स्वीकृति दिएसँगै सडक निर्माण कार्य तीव्रता पाएको छ । मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँका प्रतिनिधि इञ्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको सडकको ट्रयाक खुल्न लागेको हो ।
उनका अनुसार अहिले नयाँ ट्रयाक खोल्ने र सडकलाई बाढीपहिरोबाट बचाउन पलम कन्ट्रिक वाल, गाविन र कच्ची नाला निर्माणको काम हुने छ । उनले भने, “हामी तीव्र गतिमा सडकको ट्रयाक खाल्ने काम गरिरहेका छौँ, मौसमले साथ दिए समयमै काम सक्ने छौं ।”
नयाँ सडकको ट्रयाक खुल्ने भएपछि स्थानीय खुशी भएका छन् । कल्याणपुर बजारका सञ्जु चौधरीले भने, “ट्रयाक खोल्ने काम सकिए लगतै समयमा नै सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरिदियो भने हामी फिलिली घरबाट छोटो समयमा गाईघाट पुग्ने छौं ।” रासस