काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभाको मिति तय गरेको छ ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा रुपन्देहीको बुटवलस्थित वेष्टर्न एसियन होटल प्रालिमा बिहान ९.३० बजेबाट शुरु हुनेछ । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यसैगरी, सभामा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीको समूह तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस ९ गतेसम्म कायम रहने शेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।