चैत ३०, काठमाडौं (अस) । पत्रकारितामार्फत पूँजीबजारको विकासमा योगदान पुर्याएबापत नेपाल सांस्कृतिक सङ्घले आर्थिक अभियान दैनिकलाई सम्मान गरेको छ । सङ्घको ६४औं वार्षिकोत्सवको अवसरमा सङ्घले आर्थिक अभियान दैनिकलाई ‘अनार पुरस्कार’ प्रदान गरेको हो । आइतवार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले आर्थिक अभियान दैनिकका अध्यक्ष मदन लम्साललाई नगद रू. १० हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सङ्घले पहिलोपटक यसप्रकारको सम्मान गरेको बताएको छ । सङ्घले सो अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने झण्डै डेढ दर्जन व्यक्ति तथा संस्थालाई समेत सम्मान गरेको छ । २००७ सालमा स्थापित यस सङ्घमा नेपालका वरिष्ठ साहित्यकार तथा विभिन्न क्षेत्रका विज्ञहरू सदस्य छन् । सङ्घले हरेक वर्ष सामाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।