कठामाडौं । हालसम्म आठ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन । ३ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका हुन् ।
जीवन बीमातर्फ आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले र निर्जीवनतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।
यीमध्ये तीन कम्पनीले बोनस शेयर र नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने बाँकी कम्पनीले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेका छन् । यीमध्ये दुईओटाले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराएर नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेका छन् । नेपाल लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराई शेयरधनीको बैंक खातामा पठाएका हुन् ।
तीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घोषणा गरेको लाभांश सबैभन्दा बढी छ । कम्पनीले गत आवको मुनाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश पारितका लागि कम्पनीले फागुन १५ गते साधारण सभा बोलाएको छ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरिसकेको छ । फागुन १ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य भएका छन् ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९ दशमलव ७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनी लाभांश पाउनयोग्य हुनेछन् ।
त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले करसहित ८ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन १५ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १३ गते साधारण सभा बोलाएको छ । माघ २९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनयोग्य छन् । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेको छैन ।
कम्पनीको नाम | २०८०/८१ को लाभांश % | कुल लाभांश % | |
बोनस शेयर | नगद लाभांश | ||
शिखर इन्स्योरेन्स | 10 | 0.53 | 10.53 |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स | – | 30 | 30 |
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स | – | 9.74 | 9.74 |
हिमालयन एभरेष्ट इन्स्योरेन्स | – | 8.75 | 8.75 |
सानिमा जिआईसी इन्स्योरेन्स | 7.5 | 0.39 | 7.89 |
आइएमइ लाइफ इन्स्योरेन्स | – | 21.05 | 21.05 |
नेपाल लाइफ इन्स्योरेन्स | 10 | 11.05 | 21.05 |
सूर्यज्योति लाइफ | – | 20 | 20 |
स्रोत : सम्बन्धित कम्पनीले प्रकाशित गरेको सूचना ।