कात्तिक १८, काठमाडौं । पछिल्लो समयमा नेपालमा उत्पादित स्लिपिङ ब्यागको बजार बढेको छ । सस्तो मूल्यमा गुणस्तरीय ब्याग उत्पादन हुन थालेपछि ट्रेकिङ जाने पर्यटकहरूको रोजाइमा नेपाली ब्राण्डका स्लिपिङ ब्याग पर्न थालेका हुन् । ‘केही वर्ष अघिसम्म नेपालका पर्यटकीय बजारमा विदेशी ब्राण्डका स्लिपिङ ब्याग मात्र पाइन्थे । तर, पछिल्लो समयमा नेपाली ब्राण्डले त्यसलाई विस्थापित गरिरहेको छ,’ काठमाडौं ट्रेकिङ स्टोरका प्रोपाइटर उमेश रजत भन्छन् । होटल व्यवसायी तथा घरमा समेत स्लिपिङ ब्यागको प्रयोग बढेको व्यवसायीहरूको भनाइ छ । स्लिपिङ ब्याग ओढ्ने–ओछ्याउनेको रूपमा प्रयोग गर्ने गरिन्छ ।
हाल उपत्यकामा मात्र साना–ठूला गरी ८० भन्दा बढी कम्पनीले स्लिपिङ ब्याग उत्पादन गरिरहेको एभरेष्ट हार्डवेयर इण्डष्ट्रिजका प्रोपाइटर सुमन शेर्पा बताउँछन् । नेपालमा नर्थ फेस, मामुट, ब्ल्याक याकलगायत विदेशी ब्राण्डका स्लिपिङ ब्याग पनि उत्पादन हुने गरेको उनले जानकारी दिए । ‘उपत्यकामा मात्र ४ सयभन्दा बढी पसल तथा ट्रेकिङ स्टोरहरूले यस्ता ब्यागको विक्रीवितरण गरिरहेको उनले जानकारी दिए ।
विदेशीको कम्पनीको तुलनामा स्वदेशी कम्पनीले निकै सस्तोमा गुणस्तरीय ब्राण्डका स्लिपिङ ब्याग उत्पादन गरिरहेको शेर्पा आउटडोर गुड्स इण्डष्ट्रिजका प्रोडक्शन इञ्चार्ज मोहनप्रसाद भट्टराई बताउँछन् । ‘शेर्पा आउटडोर गुड्स इण्डष्ट्रिजले वार्षिक ५ हजारदेखि ६ हजारओटा स्लिपिङ ब्याग उत्पादन गर्छ,’ उनी भन्छन्, ‘उत्पादन वार्षिक रूपमा बढ्दै गएको छ ।’
यस्ता ब्यागको माग अक्टोबर र नोभेम्बरमा बढी हुने व्यवसायीहरू बताउँछन् । ‘विशेषगरी ‘अक्टोबरदेखि डिसेम्बरसम्म ट्रेकिङ सिजन भएकाले यस्ता ब्यागको माग बढी हुन्छ,’ ब्ल्याक याक नेपालका कण्ट्री म्यानेजर किशोरकुमार गुरुङ भन्छन् ।
हाल नेपाली बजारमा उपलब्ध स्लिपिङ ब्यागमध्ये नेपाली ब्राण्डको मूल्य १ हजार ५ सयदेखि ८ रुपैयाँसम्म पर्छ । त्यस्तै, विदेशी ब्राण्डको मूल्य भने सामान्यतः ८ हजारदेखि ५० हजार रुपैयाँसम्म पर्ने नेपाल माउण्टेन गियरका सेल्सम्यान लाक्पा राई बताउँछन् । नेपाल माउण्टेन गियरले पनि स्लिपिङ ब्यागहरू उत्पादन गरिरहेको उनले बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.