चैत ६, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रवार पदबाट राजीनामा दिएका छन् । उनले अपरान्ह १ बजे पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएको बताए ।
पत्रकार सम्मेलनमा उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर राजीनामा दिएको पनि बताएका छन् ।
सासंदसमेत रहेका उनले पुन : सक्रिय राजनीतिमा आउन उक्त पदबाट राजीनामा दिएको बताइएको छ ।त्यसो त संसद विघटनको मुद्दा हारेपछि उनलाई सरकारले राजीनामा दिन दबाबसमेत दिएको स्रोतले बताएको छ ।
पूर्व कानूनमन्त्रीसमेत भइसकेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७४ फागुन ८ गत महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो ।