हेटौंडा (अस) । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले ४ महीनामा सङ्कलन गरेको २ सय १ खाद्यपदार्थको नमूनामध्ये २३ ओटा खाद्यपदार्थ प्रतिकूल देखिएको छ । खाद्यपदार्थमा अखाद्य वस्तु मिसावट गरी विक्री गर्ने १५ जनाविरुद्ध खाद्य ऐन/नियमबमोजिम मुद्दा दायर गरिएको कार्यालयका प्रमुख राजकुमार रिजालले बताए ।
कार्यालयले हेटौंडामा प्रथम चौमासिक समीक्षा बैठक गरी यो जानकारी दिएको हो । तराईका ९ जिल्लाबाट नमूना सङ्कलन गरिएको थियो । प्रतिकूल नमूनामा पाउरोटी, हल्का पेयपदार्थ, घिउ, चामल, तेल, बेसन, चुक अमिलोलगायत छन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले गुणस्तरीय खाद्यपदार्थ मात्र विक्री/वितरण हुनुपर्ने भन्दै अखाद्यपदार्थ विक्री गर्नेलाई कारबाहीको दायरामा ल्याउन आवश्यक पहल गरिने बताए । बजार अनुगमन प्रभावकारी बनाउन र मुद्दालाई छिटो किनारा लगाउन आफू तयार रहेको उनको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.