काठमाडौं। आगामी असोज पहिलो साता काठमाडौंको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो ‘फर्नेक्स नेपाल २०२४’ आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो ।
आयोजकले काठमाडौंमा एक्स्पोको लञ्चिङ कार्यक्रम गर्दै पहिलोपटक खुला बजारसमेत सञ्चालन गर्न लागेको बताएको छ । आयोजकले एक्स्पोको स्टल बुकिङ खुला गरेको जानकारी दिएको छ । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए ।
एक्स्पोका संयोजक सम्यकमान सिंहले पहिलोपटक एक्स्पो स्थलमा फर्निचर उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुने बताए । २० ओटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छूट तथा अफरमा अवलोकनकर्ताले फर्निचर तथा फर्निसिङका सामान खरीद गर्न सक्ने बताइएको छ । संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेण्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिने आयोजकले जानकारी दिएको छ । साथै अनलाइन माध्यमबाट स्टल बुकिङ गर्ने व्यवस्था भएको पनि आयोजकको भनाइ छ । एक्स्पोमा १०० भन्दा बढी स्टल रहने बताइएको छ ।
फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीलाई समेटेर बृहत् र भव्य रूपमा आयोजना गर्न लागिएको एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्न लागेको हो । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने बताइएको छ । एक्स्पोले राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न मार्ग सहज गर्नेछ भने ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका उत्पादन उपलब्ध गराउन भूमिका निर्वाह गर्ने विश्वास आयोजकको छ ।
५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा अवलोकनकर्तालाई सिनेमा टिकटका साथै आकर्षक गिफ्ट भौचर उपलब्ध गराउने आयोजकको भनाइ छ । घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुने एक्स्पोमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।