काठमाडौं । गत असोज ११/१२ को बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबी १२ अर्ब ३६ करोड ६५ लाख ८७ हजार ५३१ रुपैयाँ पुगेको छ । भने हालसम्म १ अर्ब १९ करोड ६४ लाख ९० हजार ५५७ रुपैयाँ भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ बीमा कम्पनीमा ३ हजार ५४९ ओटा दाबी परेका हुन । जसमध्ये १ हजार ५१५ ओटा दाबी भुक्तानी भएको छ । यो तथ्यांक गत मंसिर ४ सम्म तुलनामा दाबी तर्फ ५४ करोड ५९ लाख ७५ हजारले बढी हो भने भुक्तानी तर्फ ५८ करोड ५६ लाख ९७ हजारले बढी हो ।
प्राधिकरणका अनुसार गत मंसिर ४ सम्म ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९३० बराबरको बिमा दाबी परेको थियो । भने ६१ करोड ७ लाख ९३ हजार ३३८ रुपैयाँ भुक्तानी गरेको थियो ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बीमा (निजी),मोटर बीमा ( सार्वजनिक ), सामुद्रिक बीमा पशुपन्छी बीमा कृषि बाली बीमा र विविध बीमामा दाबी/भुक्तानी भएको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सो कम्पनीमा ५०८ दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १८३, सगरमाथा लुम्बिनीमा ४२२, हिमालयन एभरेष्ट २५२, नेकोमा २०२, युनाइटेड अजोडमा ३३३, सानिमा जिआइसीमा २२४, आइजिआई प्रुडेन्सियलमा २९४ दाबी परेका छन् ।
त्यस्तै, नेशनल इन्स्योरेन्समा १०९, एनएलजीमा १९६, नेपाल इन्स्योरेन्समा १८६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बिमा कम्पनीमा १९, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार ओटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ९ दाबी निवेदन परेका छन् ।
सर्वाधिक दाबी परेका बीमालेखमा सम्पत्ति बीमाका धेरै छन् । त्यसपछि मोटर बीमा (निजी), मोटर बीमा (सार्वजनिक), इन्जिनियरिङ तथा ठेकेदार जोखिम, पशुपन्छी बीमा, कृषि बाली बिमा, सामुद्रिक बीमा र विविध छन् ।
अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश वाग्मती प्रदेश भएकाले पनि दाबी पनि बागमतीमा बढी परेको प्राधिकरणले जनाएको छ ।