काठमाडौं । दुईओटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा चालू आवमा सम्पन्न गर्न नसक्ने भएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स चालू आवभित्र अघिल्लो वर्षको साधारणसभा गर्न नसक्ने अवस्थामा छन् । मेटलाइफबाहेक १३ जीवन बीमा कम्पनीमध्ये हालसम्म ९ ओटाले गतवर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । बाँकीमध्येका लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र एशियन लाइफ इन्स्योरेन्सले असार ३० गते साधारणसभा बोलाएका छन् ।
कुनै पनि आवको वार्षिक साधारणसभा वर्ष समाप्तिको ६ महीनाभित्र गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । यसपालि तोकिएको अवधिभित्र सूर्यज्योति लाइफ इन्स्योरेन्सले मात्रै साधारणसभा सम्पन्न गरेको छ । यो कम्पनीले २०८१ पुस ६ गते वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
असार लागेयता रिलायबल नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले साधारणसभा सम्पन्न गरेका छन् । जीवन बीमा कम्पनीहरूको सम्बन्धमा प्रत्येक आवको सम्पत्ति तथा दायित्वको बीमांकीय मूल्यांकन (एक्चुरी भ्यालुएसन) गराउनुपर्ने र त्यसका लागि भारत जानुपर्ने बाध्यताका कारण वार्षिक साधारणसभा ढिला हुने गरेको कम्पनीहरूको गुनासो छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सका सूचना अधिकारी गणेश चौलागार्इं कम्पनीको एक्चुरी भ्यालुएशनको काम भइरहेको र असारभित्रै सभाको टुंगो लाग्ने बताउँछन् । पूँजी वृद्धिको दबाबमा रहेको सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँकी रहेको शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको छ । कम्पनीले असार २३ गतेदेखि ३० गतेसम्म यसअघि विक्री खुला गर्दा वितरण नभएको कुल २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । सूचना अधिकारी चौलागाईंले पूँजी वृद्धिका लागि हकप्रद निष्कासन पनि यतिबेला नै भएकाले साधारणसभा ढिला हुन गएको बताए ।
राष्ट्रिय जीवन बीमा कम्पनीले भने आव २०७४/७५ देखिकै वार्षिक सभा गर्न बाँकी छ । सरकारी स्वामित्वको यो कम्पनीले गत वैशाख ३ गते पहिलो वार्षिक साधारणसभा सम्पन्न गरी आव २०६९/७० देखि २०७३/७४ सम्मको वित्तीय विवरण पारित गरेको छ । कम्पनीले आव २०७४/७५ सम्मको वार्षिक लेखापरीक्षण सम्पन्न भइसकेको र आव २०७५/७६ को असारभित्र सक्ने जानकारी दिएको छ । कम्पनीका वित्त विभाग प्रमुख रेशम पौडेलले असारमा लेखापरीक्षण सम्पन्न गरी दुई आवको वार्षिक साधारणसभा बोलाउने योजनाबमोजिम काम भइरहेको बताए । आगामी चैत मसान्तसम्म बाँकी सबै आवको वार्षिक साधारणसभा सम्पन्न गर्ने योजना कम्पनीको रहेको समेत वित्त विभाग प्रमुख पौडेलले जानकारी दिए ।
जीवन बीमा कम्पनीमध्ये सबैको तोकिएको चुक्तापूँजी असारभित्र पुग्ने निश्चित हुँदा राष्ट्रिय जीवन बीमा कम्पनीको भने अन्योल छ । हाल १८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीले सर्वसाधारणबाट १ अर्ब ५० करोड प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत र संस्थापकबाट ३ अर्ब ५० करोड रुपैयाँ उठाउने योजना अघि सारेको छ । यो कम्पनीमा सरकारको २७ दशमलव ७८, नेपाल राष्ट्र बैंकको ५५ दशमलव ५६ र नेपाल बैंकको १६ दशमलव ६६ प्रतिशत शेयर स्वामित्व कायम छ । सरकारले यस वर्ष कम्पनीको संस्थागत विकासमा बजेटमार्फत जोड दिएकाले पूँजी बढाउन पनि उसले सहयोग गर्ने अनुमान गरिएको छ ।
सबै जीवन बीमा कम्पनीले दिए यस वर्ष लाभांश
पूँजी वृद्धिको दबाबमा रहेका जीवन बीमा कम्पनीहरू सबैले यस वर्ष लाभांश वितरण गरेका छन् । वार्षिक साधारणसभा गर्न बाँकी कम्पनीहरूले लाभांश प्रस्ताव गर्न बाँकी छ भने बाँकी सबैले लाभांश वितरण गरेका छन् । गतवर्षको मुनाफाबाट धेरै सूचीकृत कम्पनीले लाभांश वितरण गर्न नसकेको अवस्थामा जीवन बीमा कम्पनीहरू सबैले लाभांश बाँडेको देखिन्छ । हालसम्म सार्वजनिक भएको लाभांश तथ्यांक हेर्दा सिटिजन लाइफले यस वर्ष सबैभन्दा बढी २८ दशमलव ४० प्रतिशत लाभांश वितरण गरेको छ । सिटिजन लाइफले यस वर्ष २६ दशमलव ९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नेपाल लाइफ र आइएमई लाइफले समान २१ दशमलव शून्य ५ प्रतिशत लाभांश बाँडेका छन् ।
अघिल्लो वर्षको मुनाफाबाट एशियन लाइफले सबैभन्दा कम ५ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । एशियन लाइफले ५ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश असार ३० गतेको साधारणसभाबाट पारित गर्ने प्रस्ताव गरेको हो ।