चैत २६, चितवन । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान शुरु भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान शुरु गरिएको हो ।
नेपालको आफ्नो मौलिक आतिथ्यता र संस्कारलाई व्यवहारमा उतारी यसलाई बाह्य देशमा फैलाएर पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले जानकारी दिए । अहिले विभिन्न प्रचारात्मक अभियान थालिएको र उक्त अभियानअन्तर्गत पहिलो चरणमा चैत २७ गते नेपालका चार ओटा मुख्य पर्यटकीय गन्तव्य क्षेत्रमा ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गर्न लागिएको घिमिरेले बताए ।
नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडौँ, पोखरा र लुम्बिनीमा एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यसका लागि तयारीस्वरुप घिमिरेसहित पर्यटन बोर्डको एक टोली, तथा क्षेत्रीय होटल सङ्घ नेपाल र क्षेत्रीय रेवान, सौराहाले चितवनमा काम गरिरहेको छ ।
क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले यो अभियानले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने, विश्व प्रसिद्ध सफारी पर्यटनका साथै नेपाली संस्कार र संस्कृति पस्कने प्रतिबद्धता ब्यक्त गरे । यो सबैको साझा अभियान भएकाले यसमा सबैको सहभागिता आवश्यक हुने खनालले बताए ।
नेपालको नेचर, कल्चर र एड्भेञ्चरको परिचय दिँदै अतिथिदेवो भवः भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान शुरु गरिएको नमस्ते अभियान कार्यक्रमका संयोजक लक्ष्मण गौतमले बताएका छन् । ‘सत्कारमा पनि नेपाल अगाडि छ भनेर देखाउन तथा आफ्नो संस्कृतिको रुपमा रहेको अतिथि देवो भवःलाई बाह्य देशमा चरितार्थ गर्नका लागि यो अभियान महत्वपूर्ण छ,’– गौतमले भने ।
नमस्ते कार्यक्रमपछि वर्षभरी गरिने अभियानका बारेमा तालिका नै सार्वजनिक गरिने समेत उनको भनाइ छ । ‘मुख्यतः नेपाल राजनीतिक र प्राकृतिक सङ्कटमुक्त छ भनेर विदेशमा प्रचार गर्ने अभियान पनि हो यो ।’ विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा हुने छ । विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ । सो परिषदमार्फत विभिन्न देशमा एकजना एनआरएनएले तीनजना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान शुरु गरिएको उक्त अभियानका सचिवालय सदस्य भरत चन्दले बताए ।
एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समिति, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा नेपालमा भूकम्प अघि जस्तै पर्यटकको आगमन छ । साविक जस्तै अहिले नेपालमा वार्षिक करीब आठ लाख पर्यटक आउन थालेको नमस्ते कार्यक्रमका संयोजक लक्ष्मण गौतम बताउँछन् । उनकाअनुसार यो अभियानले नेपालमा दोब्बर पर्यटक आगमन बढाई वार्षिक १५ लाखभन्दा बढी पु¥याउने लक्ष्य लिइएको छ । .रासस