काठमाडौं । असोज ११ र १२ को मुसलधारे वर्षाले क्षतिग्रस्त सडक र पुलको स्थायी संरचना निर्माणका लागि अधिकतम २५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक आकलन सरकारले सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त वर्षाजन्य बाढीपहिरोबाट क्षतिग्रस्त सडक र पुल निर्माणका लागि २० अर्ब रुपैयाँदेखि २५ अर्ब रुपैयाँसम्म आवश्यक पर्ने प्रारम्भिक आकलन सार्वजनिक गरेको हो । सरकारले सडक र पुलमा २ अर्ब ५२ करोड रुपैयाँ बराबरको क्षति भएको बताएको छ । तर, त्यसलाई राम्रोसँग पुनर्निर्माण गर्न धेरै गुणा बढी स्रोत चाहिने बताएको हो ।
पछिल्लो बाढीपहिरोका कारण ३४ ओटा राजमार्गका ८०५ स्थानका सडक अवरुद्ध भएका थिए । मन्त्रालयका अनुसार त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइसकिएको छ । २९ ओटा राजमार्गमा यातायात सुचारु भएका छन् । अझै पाँचओटा मुख्य राजमार्गका ३१ स्थान अवरुद्ध छन् । मन्त्रालयका अनुसार अरनिको, बिपी, पुष्पलाल (मध्यपहाडी), कान्ति राजपथ र मेची राजमार्गको विभिन्न खण्ड गरी कुल १२४ किलोमीटर सडकमा यातायात सुचारु हुन सकेको छैन ।
- दशैंअघि बिपी राजमार्ग खुलाउन नसकिने भौतिक पूर्वाधार मन्त्रालयको भनाइ
- मुख्य पाँच राजमार्गको १२४ किलोमीटर सडक अझै अवरुद्ध
- बिपी राजमार्गमा अड्किएका ५०० सवारीसाधन दशैंअघि निकालिने
वर्षाले सबैभन्दा बढी क्षति पुर्याएको बिपी राजमार्गका विभिन्न खण्डको हवाई निरीक्षण गरेर बिहीवार पत्रकार सम्मेलन गरेको मन्त्रालयले सडक तथा पुलको अस्थायी संरचना निर्माण गर्न २ देखि ३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।
पुलतर्फ पनि उल्लेख्य क्षति भएको छ । अरनिको, बिपी, मेची, कान्ति राजपथ र माइपोखरी–सन्दकपुर इलाम गरी आठ स्थानका नौओटा पुलमा क्षति पुगेको छ । क्षति हुने पुलको कुल लम्बाइ ४२२ मीटर रहेको छ । मन्त्रालयले क्षति भएका पुलमा बेलिब्रिज जडान गर्नेदेखि डाइभर्सन निर्माण र पहुँच सडक निर्माण गरेर अवरोध हटाउने योजना बनाएको छ । ८० मीटरको बेलिब्रिज नहुँदा लार्चा–कोदारी खण्ड खुलाउन समस्या रहेको मन्त्रालयका सचिव
केशवकुमार शर्माले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने, ‘बिपी राजमार्गको १८ किलोमीटरमध्ये रोशी खोलाले १२ किलोमीटर सडक नै बगाएको छ, त्यहाँ पहिराले भित्तासम्मै कटान गरेको छ भने खोलाको बहाव हेरेर अस्थायी संरचना बनाउनुपर्ने भएकाले किटानसाथ यही समयदेखि सवारी चल्छन् भन्न सकिँदैन ।’
त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिपी राजमार्ग र नागढुंगा–मुग्लिन सडकको झ्याप्ले खोलाको विपद् अकल्पनीय भएको बताए । बिपी राजमार्ग र नागढुंगा–मुग्लिन सडक खण्ड काठमाडौंलाई पूर्व र पश्चिमबाट जोड्ने लाइफलाइन भएकाले बढी प्राथमिकता दिएको उनको भनाइ छ । कतिपय स्थानमा बेलिब्रिज नहुँदा समस्या भएको भन्दै दाहालले थपे, ‘नेपालमा अहिले ८० मीटर लामो बेलिब्रिज नै छैन, यो विषयमा सोच्नुपर्ने देखियो ।’
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बिपी राजमार्गमा भएको क्षति अनुगमन गर्न सडक यातयातबाट जानै नसकिएको बताए । नेपाली सेनाको सहयोगमा बुधवार हेलिकोप्टरबाट निरीक्षण गरिएको भन्दै उनले दशैंअघि बिपी राजमार्गको उक्त खण्डमा यातायात सञ्चालन गर्न नसकिने बताए । ‘बिपी राजमार्ग हुँदै विभिन्न गन्तव्यमा जान लागेका ४०० देखि ५०० जति सवारीसाधन बाढीपछि अहिलेसम्म रोकिएका छन्,’ पोखरेलले भने, ‘ती सवारीसाधनलाई सिन्धुलीतिर वा अन्य विकल्पबाट काठमाडौं पुर्याउने विषयमा पहल गरिरहेका छौं ।’
बिपी राजमार्गका लागि अहिलेको प्राथमिकता त्यहाँ अड्किएका गाडीलाई कसरी निकाल्ने भन्ने रहेको भन्दै पोखरेलले अर्काेतर्फ सित्खादेखि दोलालघाटसम्मको पहिरो पन्छाएर काठमाडौंसम्मको पहुँच खुलाउने तयारी रहेको बताए ।
यस्तो छ, बिपी राजमार्गको विकल्प
मन्त्रालयले पूर्वबाट बिपी राजमार्ग हुँदै आउने गाडीका लागि वैकल्पिक सडक पहिचान गरेको छ । उक्त राजमार्गबाट आउने गाडी सित्खासम्म आउन सक्छन् । सित्खा पुल तरेर रामेछाप हुँदै मन्थली जाने विकल्प छ । त्यहाँबाट दोलखाको चरिकोट हुँदै काठमाडौं आउन सकिन्छ । तर, बाटो घुमाउरो पर्छ । ‘सित्खाबाट दोलालघाट आएर अरनिको राजमार्ग हुँदै काठमाडौं आउँदा दूरी छोटो हुने भएकाले यो विकल्प तय गरिएको छ,’ सचिव शर्माले भने, ‘बिपी राजमार्गमा अड्किएका गाडी दशैंअघि नै निकाल्न प्रयास गर्छाैं ।’
काठमाडौंबाट पूर्व जाने गाडीको हकमा कान्ति राजपथ र दक्षिणकाली–छैमले–हेटौंडा सडक विकल्प हुन् । यी दुई सडकबाट गाडी हेटौंडा हुँदै धिमान पुग्छ । धिमानबाट सिन्धुलीतर्फ उक्लेर पूर्वका अन्य पहाडी गन्तव्यमा जान सकिन्छ भने बर्दिबासबाट तराईका गन्तव्यमा जान सकिन्छ । यी वैकल्पिक सडक सञ्चालनका विषयमा संघीय सरकार र प्रदेश सरकारले काम गरिरहेको सचिव शर्माले बताए । कान्ति राजपथ संघीय सरकारको सडक विभागले र दक्षिणकाली–छैमले बागमती प्रदेश सरकारले हेरिरहेको उनको भनाइ छ । दक्षिणकाली–छैमले सडक शुक्रवारसम्ममा र कान्ति राजपथ शनिवारसम्ममा सवारी सञ्चालनका लागि तयार हुने मन्त्रालयले जानकारी दिएको छ ।