साउन २२, बाँके । साउन महीना सकिदै लाग्दा पनि धान खेतीलाई आवश्यक पर्ने युरिया मलको अभाव रहेको छ । जिल्लामा मल वितरण गर्ने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा मलको मौज्दात सकिएपछि मल अभाव भएको हो ।
जिल्लामा सरकारी अनुदानको मल विक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले पाएका छन् । किसानको माग बढी हुने बेला दुवै निकायमा मलको मौज्दात रित्तिएपछि कृषक समस्यामा परेका छन् । धान उत्पादन गर्न प्रयोग गरिने युरिया मलको अभाव भएपछि किसान उत्पादन घट्ने भन्दै चिन्तित छन् ।
विगतका वर्षजस्तै यस वर्ष पनि किसानले धान खेतीका लागि आवश्यक पर्ने मल पाउन नसक्दा समस्या झेल्नुपरेको हो । आर्थिक वर्ष २०७६/ ७७ का लागि मल आयात गर्न ढिलाइ हुँदा अभाव सिर्जना भएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रमेश पौडेल बताउँछन् ।
अझै २ हजार ५०० मेट्रिक टन युरिया र २०० मेट्रिक टन डिएपी आवश्यक परे पनि समयमै मल आयात नहुँदा समस्या भएको उनको भनाइ छ । उनका अनुसार कम्पनीको क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०७५।७६ को असार मसान्तसम्म युरिया मल ४ हजार ६०० टन, डिएपी १ हजार ९७२ र पोटास ४९ टन विक्री वितरण गरेको थियो ।
कम्पनीले युरिया ३ हजार टन, डिएपी १ हजार ६००र पोटास ७० टन विक्री गर्ने वार्षिक लक्ष्य छ । गत आर्थिक वर्ष २०७४/ ७५ मा युरिया ४ हजार ३८१ टन, डिएपी १ हजार ६५१ र पोटास ७४ टन विक्री भएको थियो ।
बाँकेमा ९७ प्रतिशत धान रोपाई
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा हालसम्म करीव ९७ प्रतिशत कृषकले धान रोपिसकेका छन् । रोपेको २१ दिनपछि किसानलाई युरिया मल आवश्यक पर्छ, यो बेला मल नपाउँदा कृषकलाई समस्या भएको केन्द्रका प्रमुख सागर ढकालले बताए ।
साल्ट ट्रेडिङको गोदाममा युरिया मलको मौज्दात छैन । कम्पनीको नेपालगञ्ज कार्यालयले केहीदिन भित्रै मल आउने बताएको छ । कार्यालयका अनुसार अनुदानको डिएपी मल १५० टन र पोटास १२ दशमलव ५ टन छ । आर्थिक वर्ष २०७५/ ७६ मा कम्पनीले युरिया १ हजार ७०० टन, डिएपी १ हजार २० र पोटास ६३० टन विक्री गरेको कार्यालयले बताएको छ ।