काठमाडौं । चार दिनको सैन्य आक्रमण प्रत्याक्रमणपछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भए पनि लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध भएका यी दुईबीचको सैनिक द्वन्द्वको असर नेपालबाट हुने अन्तरराष्ट्रिय हवाई यात्रामा स्पष्ट देखियो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले भारत र पाकिस्तानबीचको द्वन्द्वले मध्यपूर्व र यूरोप (टर्की)बाट आउने जहाजको उडान प्रभावित भएको बताए । ‘अरब देशहरू र टर्की भएर आवतजावत गर्ने जहाजको आगमनमा १ घण्टा ढिलाइ भइरहेको थियो,’ उनले भने । ‘तर कुनै पनि उडानहरू रद्द भएनन् ।’
उनका अनुसार भारत र पाकिस्तानबीच आक्रमण जारी रहँदा यो रुटमा चल्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, टर्किस एयरलाइन्स, फ्लाइ दुबई, जजिरा, कुवेत, एयर अरेबिया, कतार एयरलाइन्सको जहाज आवतजावतमा थप १ घण्टा समय लागेको छ । नेपाली आकाश छाडेपछि पश्चिम जाने जहाजहरू दिल्ली हुँदै पाकिस्तानको आकाश भएर जान्थे । पाकिस्तानको आकाश प्रयोग नगरी भारतको मुम्बई भएर गन्तव्य पुग्दा थप समय लागेको हो ।
- उडान रद्द नै नभए पनि अरब र टर्की गन्तव्य रहेका जहाजको समयतालिका प्रभावित
- नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, टर्किस, फ्लाइ दुबई, जजिरा, कुवेत, एयर अरेबिया, कतार एयरलाइन्स आवतजावतमा थप एक घण्टा ढिलाइ
- द्वन्द्वग्रस्त क्षेत्रबाट उडान भर्दा दुर्घटनाको जोखिम
- विगतमा पनि थुप्रै जहाजमा मिसाइलले लागेर दुर्घटना
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अहिले १८ घण्टा चल्छ । राति १२ बजेसम्म चल्ने विमानस्थलमा लामो दूरीबाट आउने जहाज ढिलो भएमा साढे १२ बजेसम्म अवतरण गर्ने अवधि बढाइएको निरौलाले बताए । शक्ति ट्राभल एन्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक सुरेश नकर्मीले पनि पाकिस्तान भएर आउजाउ गर्ने जहाजले रुट परिवर्तन गर्नुपर्दा नेपालबाट मध्यपूर्व र यूरोपका देश आउजाउ गर्ने जहाजलाई गन्तव्य पुग्न बढी समय लागेको बताए ।
‘कतारलगायत मध्यपूर्वका देश जान समय थप लम्बिएको छ,’ नकर्मीले शनिवार आर्थिक अभियानसँग भने, ‘पहिला कतार जान साढे ४ घण्टा लाथ्यो, अहिले साढे ५ घण्टा लाग्ने गरेको छ ।’
भारत र पाकिस्तान दुवैले मिसाइल र ड्रोन आक्रमण गरेकाले अन्तरराष्ट्रिय उडान प्रभावित भएको हो । दुवै देशले एकअर्कालाई आफ्नो हवाई रुट दिन बन्द गरेका छन् । लडाइँ चलिरहँदा अन्य देशका अन्तरराष्ट्रिय एयरलाइन्सको उडान पनि प्रभावित भएको हो ।
नकर्मीका अनुसार सैन्य द्वन्द्व लम्बिए जहाजका लागि इन्धन पनि बढी चाहिने भएकाले हवाई भाडा बढ्ने जोखिम रहेको थियो । ‘जसले गर्दा नेपालको पर्यटनमा पनि असर पार्न सक्थ्यो,’ उनले भने ।
द्वन्द्वग्रस्त क्षेत्रबाट उडान गर्दा विगतमा पनि ठूला जहाज दुर्घटना भएका छन् । सन् २०१४ को जुलाई १४ गते मलेसियन एयरलाइन्सको एमएच १७ जहाज युक्रेनको आकाश भएर उड्दा दुर्घटनाग्रस्त भएको थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको अनुसन्धानबाट मिसाइलले लागेर उक्त जहाज दुर्घटना भएको पुष्टि भएको थियो । त्यसबेला युक्रेनी सरकार र रूस समर्थित पृथक्तावादीबीच लडाइँ चलिरहेको थियो ।
त्यसैगरी, सन् २०२४ को डिसेम्बरमा रूसी एअर डिफेन्स सिस्टमको मिसाइल लागेर अजरबैजान एयरलाइन्सको उडान ८४३२ दुर्घटनाग्रस्त भएको थियो । उक्त उडान रूसको ग्रोज्नी क्षेत्र हुँदै उडेको थियो । सन् २०२० को जनवरीमा इरानको इस्लामिक गार्डले युक्रेन एयरलाइन्सको उडान ७५२ माथि उक्त जहाज तेहरानबाट उड्नेबित्तिकै मिसाइल हानेको थियो । अमेरिका र इरानबीच रहेको तनावबीच उक्त घटना भएको थियो । उक्त घटना अमेरिकाले इस्लामिक गार्डका तत्कालीन प्रमुख क्वासेम सोलेमानीलाई इराकमा ड्रोन हमला गरेर हत्या गरेको ५ दिनपछि भएको थियो ।
व्यापारमा असर
नेपाल र पाकिस्ताबीच खासै ठूलो व्यापार नभएकाले प्रभावित भए पनि नेपाललाई धेरै असर नगर्ने व्यापारविज्ञ बताउँछन् । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को चैतसम्ममा नेपाल–पाकिस्तानबीच कुल ३१ करोड ६९ लाख ९८ हजार रुपैयाँ बराबरको व्यापार भएको छ । त्यसमध्ये नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ मूल्यको वस्तु आयात गरेको छ ।
निर्यात ६ करोड २२ लाख ९१ हजार रुपैयाँको छ । नेपालले पाकिस्तानमा आँखाको भित्री भागमा लगाउने कन्ट्याक्ट लेन्स, फर्मास्युटिकल, अलैंचीजस्ता वस्तु निर्यात गर्छ । उताबाट थोरै परिमाणमा भए पनि १७० भन्दा बढी वस्तु आयात गर्छ । त्यहाँबाट नेपालले विभिन्न खालका उपकरण, फेस क्रिम, बिरेनुन, औषधिमा प्रयोग हुने वनस्पति, छालाका पोशाक, फुटवेयर, जर्सी, गल्फ बलहरू, बालबालिकाका गार्मेन्टलगायत वस्तु आयात गर्दै आएको छ ।
व्यापारविज्ञ रविशंकर सैंजु भारत र पाकिस्तानबीच द्वन्द्व बढेमा भारतबाट आउने र भारतको बाटो प्रयोग गरेर आउने वस्तुको लजिस्टिक लागत बढ्न सक्ने बताउँछन् । तत्कालका लागि युद्धविराम भए पनि फेरि द्वन्द्व हुने सम्भावना नकार्न नसकिने हुँदा नेपालको अन्तरराष्ट्रिय व्यापार जोखिममा छ ।
‘द्वन्द्व बढेमा यातायात, ढुवानी खर्च बढ्ने हुन्छ,’ सैंजुले भने । ‘यस्तो बेला निकासी/पैठारी हुने वस्तुको चेकजाँच बढी हुने र यसले गर्दा समय बढी लाग्ने हुन्छ ।’