काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भएको’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला आधारहीन भएको बताएका छन् । उनले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारत निर्यात गर्न शुरु भएको बताए ।
प्रतिनिधिसभा पूर्वाधार विकास समितिको आज (बुधवार) बसेको बैठकमा मन्त्री खड्काले हाल देशको आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताए । उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेकोमा पानी पर्न थालेसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको बताए ।
मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका वेला करीब १ हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको बताए। तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पुग्नेगरी पर्याप्त विद्युत् आपूर्ति भइरहेको बताए । मंगलवार मध्यरातदेखि भारतमा ७३१ मेगावाट विद्युत् विक्री गरिसकिएको पुष्टि नेपाल विद्युत प्राधिकरणले गरेको छ ।
मन्त्री खड्काले पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्नेबारे आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा दिए। उनले विदेशमा रहेका केही व्यक्तिले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता गुनासामा कुनै तथ्य नपाइएको बताए। उनका अनुसार सबै ठाउँमा नियमित विद्युत् आपूर्ति भइरहेको र लोडसेडिङका भएर बत्ती गएको नभई मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको हो।
उनले भने, “विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट। बत्ती गयो भन्ने गुनासो गर्छन् तर हामीले जब सो स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौं। यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ।”
मन्त्री खड्काले विद्युत् प्राधिकरणले कहीँ कतै विद्युत् अवरुद्ध भएमा त्यसको सूचना दिँदै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति आउनुपर्ने कुनै पनि कारण नरहेको जिकिर गरे। उनले भने, “हामीसँग अहिले विद्युत् उत्पादन आवश्यकताभन्दा बढी छ, त्यसैले निर्यात भइरहेको छ। यस्तो अवस्थामा लोडसेडिङ भएको भन्ने कुरा सरासर गलत हो।”
मन्त्री खड्काका अनुसार विगत वर्षहरूमा पनि वर्षको ७ सय घण्टासम्म विभिन्न प्राविधिक कारणले विद्युत् आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने गरेको थियो । कहिले हावाहुरीले पोल ढल्ने, कहिले मर्मतकै क्रममा लाइन काटिने, कहिले मानवीय त्रुटीका कारण पनि विद्युत् अवरुद्ध हुने गरेका उदाहरण उनले प्रस्तुत गरेका थिए।
उनले आगामी दिनमा आन्तरिक विद्युत् खपत तीव्र गतिमा बढ्ने प्रक्षेपण गर्दै उत्पादन अझ बढाउने योजना रहेको बताए। उनले सामाजिक सञ्जालमा यथार्थविपरीत हल्ला नफैलाउन आग्रह गर्दै जनतालाई प्रमाणसहितको जानकारीमा विश्वास गर्न अनुरोध गरे। “हल्ला होइन, तथ्यमा विश्वास गर्नुस्। हामी उत्पादन बढाउँदै छौं, आपूर्ति सन्तुलनमा छ र लोडसेडिङको कुनै सम्भावना छैन,” उनले भने।