भक्तपुर । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ स्मृति ग्रन्थ लोकार्पण गरिएको छ ।
आज आयोजित एक कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ, समीक्षक र लेखकहरूले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन।
कार्यक्रममा प्राज्ञ डा. गुरुङले पुस्तकले धर्म, संस्कृति, परम्परा र संघर्षलाई उजागर गरेको चर्चा गरे । विभिन्न लेखकले गौतमप्रति गरेको श्रद्धाभावले उनको योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै गौतम बहुआयामिक व्यक्तित्व भएको तथ्य पुस्तकले झल्काएको उनले बताए ।
तत्कालीन बेलाको संघर्ष, संस्कृतिको संरक्षण र संस्कारलाई आत्मसात गर्दै बहुआयामिक व्यक्तित्वको रुपमा पहिचान बनाउनुभएका गौतमको जीवनका अनेकौँ आयामलाई पुस्तकले उजागर गरेको प्राज्ञ डा गुरुङले बताए । उनले पुस्तकले संस्कृति, संस्कारका साथै संघर्षका विषयमा अध्ययन गर्न चाहनेलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
पुस्तकका समीक्षक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक अध्ययन सकिँदा सिङ्गो भोजपुरलाई बुझ्न सकिने बताए । उनले त्यसबेलाको संघर्ष, रहनसहन, संस्कृतिलगायत जीवनशैलीलाई पुस्तकले उजागर गरेको भन्दै यसको अध्ययनबाट धेरै ऊर्जा प्राप्त गर्न सक्ने धारणा राखेका थिए । समीक्षक प्रा डा नन्दीशकुमार अधिकारीले वेदका विद्वान एवं शिक्षक भीमप्रसाद गौतमले समाज विकासदेखि रुपान्तरणसम्म निर्वाह गर्नुभएको भूमिकालाई पुस्तकले ताजा गराइदिएको बताए ।
उनले आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले अहिलेसम्म विभिन्न १२ ओटा पुस्तक प्रकाशित गरेको उल्लेख गर्दै प्रतिष्ठानले छात्रवृत्तिका लागि विभिन्न कोष खडा गरेर सामाजिक कार्य गरिरहेको जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति प्राध्यापक चेतोनाथ गौतम र प्रतिष्ठानका सचिव ब्रदी विशाल भट्टराईले पुस्तक जीवन उपयोगी हुनुका साथै यसले परिवर्तनको सन्देश प्रवाह गरेको बताए ।
पुस्तकमा स्वर्गीय प्राज्ञ दधिराज सुवेदी, भाषा सुधार अभियन्ता प्रा हेमाङ्ग राज अधिकारी, प्रगतिशील साहित्यकार निनु चापागाईं , स्वर्गीय यज्ञनिधि दाहाल समेतको लेख रहेको छ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक शरच्चन्द्र भण्डारीलगायत विभिन्न व्यक्तित्वले लेखेका लेख समेटिएकाले पुस्तकले त्यसबेला र अहिलेको समयको परिवेशलाई प्रष्ट्याएको उनिहरूको भनाइ छ ।राससकाे सहयाेगमा