काठमाडौं । पछिल्ला १६ कारोबार दिनमा दोस्रो दिन गत सोमवार बढेको नेप्से आज (मंगलवार) फेरि घटेको छ । सोमवार शून्य दशमलव ९९ प्रतिशत बढेको नेप्से मंगलवार २ दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ५८४ दशमलव ८८ विन्दुमा झरेको हो ।
नेप्से साढे दुई महीनापछि २६ सय विन्दुमुनि झरेको हो । यसअघि गत माघ ३ गते नेप्से २ हजार ५८८ दशमलव ६२ विन्दुमा थियो ।
गत फागुन १९ यता बजार ओरालो लाग्न थालेयता दुई दिन (फागुन २८ र चैत ११) मा मात्रै बढेको थियो ।
मंगलवार नेप्सेमा कालो मारुबोजु आकृति बनेको छ । पछिल्ला दिनमा बनेका मैनबत्ती आकृतिले बजारमा ‘बियरिश इन्गल्फिङ’ ट्रेन्ड देखिएको जानकार बताउँछन् । यसले बजार बियरिश भएको बलियो संकेत देखिएको उनीहरूको भनाइ छ । भोलि हुने कारोबारले बजारको दिशा निर्धारण गर्ने जानकारहरू बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ८३ प्रतिशत,फ्लोट इन्डेक्स २ दशलमव १६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ८७ प्रतिशत घटेको छ ।
आज ३२५ धितोपत्रको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर ६२ हजार २१ पटकमा रू. ५ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी ४ दशलमव ५२ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १ सय कायम भएको छ ।
दोस्रोमा ११ केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्रको मूल्य ४ दशमलव २२ प्रतिशत बढेर रू. १ हजार २२२ पुगेको छ ।
मंगलवार सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७३६ मा झरेको छ । दोस्रोमा सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत घटेर रू.२ हजार ३१६ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. २३ करोड २० लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९३८ दशमलव ५० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल रिइन्स्योरेन्स कम्पनीको रू. २१ करोड ३९ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचक सबै घटेका छन् । सबैभन्दा बढी वित्त समूहको सूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा हाइड्रोपावर समूहको सूचक ३ दशमलव ३१ प्रतिशत घटेको छ ।