चैत ४, दमौली (अस) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा ७५ हजार पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । यही चैत २९ देखि वैशाख ३ गतेसम्म चल्ने पाँचौं बन्दीपुर महोत्सव तथा राष्ट्रिय साहित्य सम्मेलनका क्रममा सो सङ्ख्यामा पर्यटक भित्र्याउने तयारी थालिएको आयोजकले जानकारी दिएको छ ।
मङ्गलवार बन्दीपुरमा पत्रकार सम्मेलन गर्दै महोत्सव मूल संयोजक सुधा पिया श्रेष्ठले बन्दीपुरलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महोत्सव आयोजना गरिएको बताइन् । कला, संस्कृति र पर्यटकीय सम्पदामा बन्दीपुर धनी रहेको उल्लेख गर्दै उनले भनिन्, ‘महोत्सवमार्फत यहाँका सम्पदाको प्रचारप्रसार गरिनेछ ।’ महोत्सवका अवसरमा सञ्चालित राष्ट्रिय साहित्य सम्मेलनका क्रममा देशभरका साहित्यकारलाई जम्मा गराएर साहित्यका क्षेत्रमा विशिष्ट योगदानसमेत थप्न लागिएको महोत्सवका सह–संयोजक भीष्म श्रेष्ठले बताए । वैशाख २ र ३ गते हुने कार्यक्रममा प्रतियोगितात्मक काव्य गोष्ठीसमेत गरेर साहित्यिक पर्यटकलाई पनि बन्दीपुरतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको उनले बताए ।
महोत्सवका सह–संयोजक एवम् बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले अन्य महोत्सवको तुलनामा बन्दीपुर महोत्सवलाई फरक बनाउने प्रयास गरिएको बताए । महोत्सव स्थल टुँडिखेलका अलावा बन्दीपुर बजार र आसपासमा सांस्कृतिक कार्यक्रम गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरिने उनले बताए ।
महोत्सवका अवसरमा बन्दीपुर बजार तथा आसपासका सांस्कृतिक क्षेत्र रामकोटमा प्रचलित विभिन्न कार्यक्रम गरिनेछ । दर्शकलाई बजारका होटलमा तथा स्थानीय होम स्टेमा बसोबासको प्याकेजसमेत तयार पारिएको छ । रमाइलो मेला, सांस्कृतिक कार्यक्रम र पर्यटकीय दृश्यावलोकन, प्याराग्लाइडिङ, र्याफ्टिङ र रक क्लाइम्बिङमार्फत बन्दीपुरको प्रचार गरेर दिगो पर्यटन विकासमा योगदान दिने प्रयास गरिने महोत्सवका सञ्चार संयोजक रवीन गुरुङले बताए । महोत्सव बन्दीपुर सामाजिक विकास समिति, बन्दीपुर गाविस, बन्दीपुर पर्यटन विकास समिति र तनहुँ उवासङ्घ बन्दीपुर एकाइको संयुक्त आयोजनामा हुन लागेको हो ।