साउन २७, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. ३ करोड ३९ लाख नोक्सानीमा रहेको छ ।
अघिल्लो आवमा भने कम्पनी रू. ९७ लाख ९३ हजार नाफामा थियो । गत आवमा खर्च बढेकाले कम्पनी नोक्सानीमा गएको हो । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च रू. १ करोड ९७ लाख रहेकोमा गत आवमा बढेर रू. ६ करोड ९ लाख पुगेको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा ६२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा विद्युत विक्रीबापत रू. ४ करोड ८० लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. ७ करोड ८१ लाख पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख रहेको छ भने गत आवमा कम्पनीले शेयर प्रिमियममा रू. १ करोड ८९ लाख सञ्चित गरेको छ । जगेडा कोष भने रू. २ करोड ५४ लाख ऋणात्मक रहेको छ । गत आवमा नोक्सानी भएपछि कम्पनीकाे प्रतिशेयर आम्दानी ८ दशमलव ७७ ऋणात्मक रहेको छ । अघिल्लो आवमा भने कम्पनीकाे प्रतिशेयर आम्दानी रू. ३ दशमलव २९ धनात्मक थियो । गत आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ३२ रहेको छ ।