काठमाडौं। चीनले हजारौं मिटर गहिराइमा (पानीमुनि) सञ्चार केबल काट्न सक्ने उन्नत प्रविधि विकास गरेको दावी गरेको छ । यसले विश्वव्यापी इन्टरनेट जडान तथा सैन्य सञ्चार प्रणालीमा गम्भीर असर पार्न सक्ने आकलन गरिएको द इकोनोमिक टाइम्स ले लेखेको छ ।
चाइना शिप साइंटिफिक रिसर्च सेन्टर ( सीएसएसआरसी) र स्टेट की ल्याबोरेटरी अफ डीप-सी म्यान्ड भेहिकल्सले संयुक्त रूपमा विकास गरेको यो उपकरणले ४ हजार मिटर गहिराइसम्म काम गर्न सक्ने बताइएको छ। यसलाई चीनका अत्याधुनिक पनडुब्बीहरू ‘फेन्डोजहे’ (स्ट्राइभर) र ‘हाइडौ’ संस्करणमामा एकीकृत गरिएको छ । यो प्रविधि हीरा जडित ग्राइन्डिङ व्हील (१५० मिलिमिटर) र १ हजार ६०० आरपीएम को गतिमा घुम्ने १ किलोवाट क्षमताको मोटरबाट सञ्चालन हुन्छ । टाइटेनियम मिश्रित धातु र तेल-भरिएको पोकाहरूले पानीको गहिराइमा पनि विस्फोटबाट जोगाउँछ।
विश्व सञ्चार जगत खतरामा परेको हो ?
विश्वको ९५ प्रतिशत डेटा पानीमुनि केबल मार्फत प्रवाहित हुन्छ । यसले वित्तीय बजार, रक्षा प्रणाली र डिजिटल सेवाहरू नियन्त्रण गर्छ। चीनले यो उपकरण नागरिक उद्देश्य (समुद्री अनुसन्धान, उद्धार कार्य)का लागि भएको बताए पनि यसको सैन्य प्रयोग हुन सक्ने शंका छ । गुआम र ताइवानजस्ता संवेदनशील क्षेत्रमा केबल काटेर विश्व सञ्जाल अवरुद्ध गर्न सक्ने चिन्ता पनि बढेको छ। पूर्व अमेरिकी एयरफोर्स कर्नल रेन्डमन्ड पावेलले यसले चीनलाई युद्ध र शान्तिको सीमारेखा धमिलो पारेर रणनीतिक लाभ दिने बताएका छन् ।
केबलमा बढ्दो हमला:
बाल्टिक सागरमा २०२३ देखि ११ केबल कटान घटना र ताइवान नजिकै चिनियाँ जहाजहरूको संलग्नताको आशंका बढेको छ । २०२५ मा मात्र ५ ओटा घटनामा केबल क्षति भएको रिपोर्ट छ । ताइवानले गत महिना चिनियाँ जहाज ‘होङ ताइ ५८’ लाई केबल काट्ने प्रयाससँग जोडेर नियन्त्रणमा राखेको थियो।
चिनियाँ अनुसन्धानकर्ताहरूले यो प्रविधि "समुद्री शक्ति निर्माण र निलो अर्थतन्त्रको हिस्सा" भनेका छन्। तर अन्तर्राष्ट्रिय विश्लेषकहरूले चीनले यसले विश्वव्यापी डिजिटल सुरक्षा र भू-राजनीतिक स्थिरतालाई चुनौती दिएको बताएका छन्।
चीनको यो प्रविधि उसको समुद्री महत्वाकांक्षाको प्रतीक हो । यसले गहिरो समुद्रमा चीनलाई प्रभुत्व कायम गर्न मद्दत गर्ने देखिन्छ। तर यसले वैश्विक सञ्चार, आर्थिक प्रणाली र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा गम्भीर जोखिम पुर्याउने विशेषज्ञहरूको चेतावनी छ ।
चीनले विगत वर्षहरूमा गहिरो समुद्र प्रविधिमा ठूलो प्रगति गरेको छ । २०२४ मा दक्षिण चीन सागरमा २ हजार मिटर गहिराइमा ‘अन्डरवाटर स्पेस स्टेसन’ निर्माण शुरू गरिएको छ । यसबीच अमेरिका र जापानका पनडुब्बीहरू पुरानो भएको अवस्थामा चीनको पनडुब्बी बेडा विश्वकै ठूलो बनेको छ।