काठमाडौं । विभिन्न विदेशी ब्रान्डका चिसो पेय पदार्थले बजार कब्जा गरिरहेका बेला नेपालकै मौलिक उत्पादन महीले स्वदेशी ब्रान्डकै पेयका रूपमा बजार तताउन थालेको छ । दुग्ध व्यवसायीले मही प्रवर्द्धनलाई अभियानका रूपमा अघि बढाएको छोटो समयमै त्यसले सार्थकता पाएको देखिएको छ ।
व्यवसायीले महिलाई विभिन्न ब्रान्डमा प्रवर्द्धन गर्न थालेपछि काठमाडौं, पोखरा र चितवनलगायत देशका ठूला शहरमा महीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ । अहिले १० ओटा डेरीले महिलाई विभिन्न नामले ब्रान्डिङ गरेर विक्री गरिरहेका छन् ।
पोखराको बजगाईं डेरी, एस एन्ड एस डेरी, चितवनको पवन डेरी, अर्घाखाँचीको ग्लोबल डेरीलगायतले विभिन्न नाम दिएर महीको ब्रान्डिङ गरेका हुन् ।
नेपाल डेरी एशोसिएशनले मही अभियान प्रवर्द्धन गर्न रैथाने कृषि उत्पादन नेपाल प्रालिको आयोजनामा हरेक शनिवार काठमाडौंको दरबारमार्गमा लाग्ने कृषि हाट बजारमा ठेकीमा मही पारेर नि:शुल्क वितरण गर्दै आएको छ ।
एस एन्ड एस डेरीका सञ्चालक शिवहरि आचार्यले आधा लिटरको बोतलमा दर्पण ब्रान्ड नामबाट मही उत्पादन गरिरहेका छन् । यसअघि खासै उपभोक्ताको रोजाइमा नपरेको महिलाई ब्रान्ड बनाएर बजारमा ल्याएपछि भने विक्री बढेको उनले सुनाए । ‘दैनिक १५० लिटर मही बजारमा पठाउन थालेको महीना दिनमै हजार लिटरसम्मको माग आउन थालेको छ । अब उत्पादन वृद्धि गर्ने योजना छ,’ उनले भने ।
बोतलमा प्याक गरिएको मही ४ डिग्री सेल्सियसमा राख्दा ८ दिनसम्म प्रयोग गर्न सकिने उनले बताए । यसअघि डेरी पसलमा मात्रै विक्री हुने महीको ब्रान्डिङ गरेपछि विभिन्न मार्ट तथा सुपरमार्केटमा समेत विक्री हुन थालेको छ । महीमा खासगरी २० वर्षमाथि उमेरसमूहको आकर्षण बढेको आचार्य बताउँछन् ।
उनका अनुसार बजारमा पाइने विदेशी पेय पदार्थमा अत्यधिक चिनीको मात्रा रहने भएकाले त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । त्यसको विकल्पका रूपमा महीको माग बढेको हुन सक्ने उनको अनुमान छ ।
आन्तरिक उत्पादनको प्रवर्द्धन गर्न र दुग्धजन्य पदार्थको खपत बढाउन नेपाल डेरी एशोसिएशनले करीब ३ वर्षदेखि नै मही सेवन अभियान चलाएको छ । एशोसिएशनको नेतृत्वमा सिंहदरबारभित्रका चमेना गृहदेखि, विभिन्न विवाह तथा भोजभतेरमा समेत चिसो पेय पदार्थको सट्टामा मही पिउने अभियान चलाइएको छ ।
एशोसिएशनले मही अभियानलाई प्रवर्द्धन गर्न रैथाने कृषि उत्पादन नेपाल प्रालिको आयोजनामा हरेक शनिवार काठमाडौंको दरबारमार्गमा लाग्ने कृषि हाट बजारमा ठेकीमा मही पारेर नि:शुल्क वितरण गर्दै आएको एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले बताए । उनका अनुसार हाट बजारमा नि:शुल्क मही सेवन गराउन रैथाने कृषिसँग २ वर्षका लागि सम्झौता गरिएको छ । सम्झौताको १ वर्षमा करीब १ लाख ८३ हजार जनालाई नि:शुल्क रूपमा मही सेवन गराइएको छ ।