काठमाडौँ । भारतको अडानी समूह र भुटानको ड्रुक ग्रीन पावर कर्पोरेशन (डीजीपीसी) बीच भुटानमा ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् आयोजनाहरू विकास गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । अडानी समूहले समझदारीपत्रमा हस्ताक्षर भएको बिहीवार जनाएको हो ।
अडानी समूहले बिहीवार जारी गरेको विज्ञप्तिमा ५ हजार मेगावाट जलविद्युत् उत्पादनका लागि जलाशययुक्तलगायतका आयोजना पहिचान गरी निर्माण गर्ने समझदारी डीजीपीसीसँग भएको उल्लेख गरिएको छ ।
अडानी समूहले भुटानमा यसअघि नै डीजीपीसीसँगको सहकार्यमा ५७०/९०० मेगावाट क्षमताको वाङ्चु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दुवैले निर्माण गरिरहेको वाङ्चु जलविद्युत् परियोजनामा अडानी समूहको ४९ प्रतिशत र डीजीपीसीको ५१ प्रतिशत हिस्सा रहेको छ ।
नयाँ समझदारीले सन् २०४० सम्ममा २० हजार मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने भुटानको लक्ष्यमा सघाउनेछ । यसका लागि भुटानले जलाशययुक्त आयोजनालगायत नवीकरणीय जलविद्युत् उत्पादनमा ध्यान केन्द्रित गरेको छ ।