भेटिकन सिटी । अमेरिकाका कार्डिनल रबर्ट फ्रान्सिस प्रिभस्ट नयाँ पोप चुनिएका छन् । गएराति भेटिकन सिटीमा दोस्रो दिन भएको मतदानबाट उनी पोप चुनिएका हुन् ।
क्याथोलिक‚ प्रोटेस्टेन्ट र अर्थोडक्सलगायत विभिन्न इसाई सम्प्रदायमध्ये क्याथोलिकहरूका सर्वेसर्वा मानिने पोप चुनिएपछि उनले पोपका रुपमा लियो चौधौँ नाम राखेका छन् । पोप चुनिएपछि नयाँ नाम राख्ने प्रचलनअनुसार उनले यो नाम राखेका हुन्। अब उनी पोप चौधौँका नामले चिनिनेछन् । यसअघि कुनै पनि अमेरिकाली कार्डिनलले पोप बन्ने अवसर पाएका थिएनन् ।
यसपटक नयाँ पोप चयनका लागि विश्वभरिका १३३ जना कार्डिनलहरू भेटिकन सिटीमा भेला भएका थिए । यसरी भेला भएका कार्डिनलहरूमध्येबाट नयाँ पोप चयन गर्ने परम्परा क्याथोलिक इसाई सम्प्रदायमा रहेको छ । यसै वर्ष गत अप्रिल २५ मा पोप फ्रान्सिसको निधन भएपछि नयाँ पोप चयन गरिएको हो ।
पोप छान्न सबै कार्डिनलहरू भेटिकनको अपोलिस्टिक प्यालेसभित्र रहन्छन् र पोप चयन नहुन्जेलसम्म कैयौँ पटकसम्म पनि मतदान हुन्छ । यसपल्ट भने दोस्रो पटकको मतदानमा नै नयाँ पोप चयन भएको हो । नयाँ पोप चयन नहुन्जेल प्यालेसभित्र रहेका कार्डिनलहरू बाहिर निस्कन पाउँदैनन् ।
पोप चयन भए नभएको जानकारी धुँवाबाट दिने गरिन्छ । भेटिकनको चिम्नीबाट कालो धुँवा निस्किए पोप चयन नभएको जानकारी पाइन्छ भने सेतो धुँवा निस्किए पोप चयन भएको जानकारी पाइन्छ ।