काठमाडौं । लेखापरीक्षक भन्नेबित्तिकै आम रूपमा हिसाबकिताब जाँच गर्ने व्यक्तिका रूपमा चिनिन्छ । कुनै संस्था वा कम्पनीमा व्यवस्थापनले बनाएको हिसाबकिताब परीक्षण गरेर त्यसलाई प्रमाणीकरण गर्ने अधिकार लेखापरीक्षकलाई हुन्छ । त्यसैले कुनै संस्था वा कम्पनीको हिसाबकिताब गडबड भयो कि ‘लेखापरीक्षकले के हेर्यो ?’ भनेर प्रश्न गरिन्छ ।
अब लेखापरीक्षकको भूमिका कम्पनीको हिसाबकिताब परीक्षण र टिप्पणीमा मात्र सीमित छैन । लेखापरीक्षण गरेका कम्पनीको दिगोपनका लागि समेत भूमिका खेल्नुपर्छ भन्ने विषयमा लेखापरीक्षकहरू सचेत हुन थालेका छन् । लेखा व्यवसायीहरूको अन्तरराष्ट्रिय छाता संगठन इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आईएफएसी) ले ‘सस्टेनेबिलिटी स्ट्यान्डर्ड १ र २’ जारी गर्दैै कार्यान्वयन गर्न लबिङ गरिरहेका बेला नेपाली लेखा व्यवसायीबीच पनि यसको बहस शुरू भएको छ ।
तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारी
नेपालमा लेखा व्यवसाय शिक्षा र लेखा व्यवसायीको प्रवर्द्धन र नियमनको काम गर्दै आएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले आयोजना गरेको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको विषय नै ‘दिगो लेखा अभ्यास’ राखिएको छ । बिहीवार शुरू भई शुक्रवारसम्म चल्ने सम्मेलनमा यही विषयमा केन्द्रित रही कार्यपत्र प्रस्तुति तथा छलफल गर्ने आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले बताए ।
अध्यक्ष काफ्लेका अनुसार व्यवसाय दिगो हुनका लागि दिगोे लेखापरीक्षणमा वित्तीय सूचकका अतिरिक्त वातावरण संरक्षण, सामाजिक दायित्व र सुशासनका विषय पनि परीक्षण गर्नुपर्ने व्यवस्था छ । व्यवसायबाट नाफा कमाउनु मात्र सफलता नभएकाले दिगोपन हुनुपर्ने भन्दै दिगो लेखा व्यवसायबारे विश्वभर बहस शुरू भएको हो ।
आईएफएसीको सदस्य राष्ट्रको रूपमा नेपालले पनि दिगो लेखा अभ्यासका लागि लेखामान र लेखापरीक्षणमान बोर्डले काम गरिरहेको छ । चालू आर्थिक वर्षमा नै दिगो लेखामान मापदण्ड आउने उनले बताए ।
तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलनमा सहभगीहरू
चार्टर्ड एकाउन्टेन्टहरूको छाता संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष दीपक पाण्डे नेपालमा लेखापरीक्षण वित्तीय सूचकभन्दा माथि उठ्न नसकेको बताउँछन् । ‘विश्वभर लेखापरीक्षण वित्तीय सूचकको खुलासा गर्नेभन्दा माथि उठ्नुपर्छ भनेर अभ्यास शुरू भएको छ,’ उनले भने, ‘अब वित्तीय सूचकभन्दा गैरवित्तीय सूचक अझ महत्त्वपूर्ण हुन्छ ।’
सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुन नेपाल आएकी आईएफएसीका अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याइन् । त्यसैका लागि दिगो लेखा अभ्यासबारे मापदण्ड नै बनाएर लागू गर्न सिफारिश गरिएको उनको भनाइ छ । प्रविधिको विकाससँगै लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर र चुनौती थपिएको उल्लेख गर्दै त्यसका आधारमा अघि बढ्नुपर्ने उनले बताइन् ।
सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिमा लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताए । राम्रो लेखांकन नहुँदा त्यो व्यवसाय नै बन्द हुने अवस्थामा पुग्ने भएकाले लेखापरीक्षण पेशामा आचारसंहिता परिपालना अनिवार्य हुने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लेखापरीक्षकहरूले देशको अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने भएकाले सम्मेलनले यसलाई थप उजागर गर्ने गभर्नर अधिकारीले उल्लेख गरे । नेपालमा हाल १ हजार चार्टर्ड एकाउन्टेन्ट र ७ हजार रजिस्टर्ड अडिटरले वार्षिक रूपमा तीन लाखभन्दा बढी संस्थाको लेखापरीक्षण गर्दै आएका छन् । लेखांकन र लेखापरीक्षण प्रणालीलाई अन्तरराष्ट्रिय मापदण्डको बनाउन नेपालमा अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदनमान (आईएफआरएस) अनुसार नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) कार्यान्वयन भइरहेको आइक्यानले बताएको छ । सम्मेलनमा देशभरका हजारजति लेखा व्यवसायी सहभागी छन् ।