काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीले सबैभन्दा पहिले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीले ३६ दशमलव २५ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड ९३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीले इम्पेरमेन्ट चार्ज वापत्को रकम बढी छुट्याएका कारण सञ्चालन नाफासँग खुद नाफा घट्न पुगेको हो ।
गत वर्ष ४१ लाख ७४ हजार रुपैयाँ इम्पेरेमन्ट चार्जबापत छुट्याएको कम्पनीले यस वर्ष २ करोड ६० लाख रुपैयाँभन्दा बढी छुट्याएको हो । जसका कारण सञ्चालन नाफा गत वर्ष ९ करोड ९० लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ६ करोड ४६ लाख रुपैयाँभन्दा बढी भएको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३ करोड ६७ लाख रुपैयाँभन्दा बढी कायम छ । गत वर्ष यस अवधिसम्म यो रकम ४ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको थियो । गत वर्षको भन्दा यस वर्ष कम्पनीको वितरणयोग्य नाफा करीब २३ प्रतिशत घटेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ छ ।
रिटेन्ड अर्निङ १३ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोषमा भने १७ करोड ३७ लाख रुपैयाँभन्दा बढी कायम छ । दोस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने विभिन्न संघसस्थामा ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले आफ्ना सदस्यहरूमा भने १ करोड ६१ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले धितोपत्रमा भने यस अवधिसम्म २० लाख रुपैयाँ लगानी गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ८२ प्रतिशत रहेकोमा यस वर्ष बढेर २ दशमलव ७१ प्रतिशत कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा छ ।