काठमाडौं । पिपुल्स पावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ४१ लाख १३ हजार नाफा कमाएको छ । पहिलो त्रैमाससम्म कम्पनी रू. १ लाख ४५ हजार नोक्सानीमा थियो । दोस्रो त्रैमासदेखि विद्युत् विक्रीबाट आम्दानी गर्न थालेपछि कम्पनी नाफामा गएको हो ।
सो अवधिमा कम्पनीले विद्युत् विक्रीबाट रू. १ करोड ४० लाख आम्दानी गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीको विद्युत् विक्री आम्दानी शुरू भएको थिएन । कम्पनीको चुक्तापूँजी रू. ६३ करोड २६ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रू. १ करोड ४३ लाख ऋणात्मक रहेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशलमव ६५, तरलता अनुपात १ दशमलव शू्न्य २ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९७ दशमलव ७२ रहेको छ । आयोजना निर्माण कार्य सम्पन्न गरी २०७९ मङ्सिर १२ गतेदेखि कम्पनीले व्यापारिक उत्पादन शुरू गरेको छ ।