मेवा एक उष्णकटिबन्धीय फल हो । मीठो, रसिलो स्वादका लागि मात्र नभई यसको असंख्य स्वास्थ्य लाभहरूका लागि पनि यसले ख्याति कमाएको छ । मेवा फल मानव स्वास्थ्यका लागि अति नै फाइदाजनक फल हो । उष्णकटिबन्धीय भन्नाले भूमध्य रेखा नजिकका क्षेत्रहरूलाई जनाउँछ जहाँ न्यानो हावापानी, हरियाली वनस्पति र उच्च स्तरको जैविक विविधता छ । यस क्षेत्रमा केरा, आँप र अनार जस्ता उष्णकटिबन्धीय फलहरू फल्छन् । मेवा फल संसारभर फैलिनुअघि मध्यअमेरिका र दक्षिणी मेक्सिकोमा पाइने गर्दथ्यो । हाल खास गरी एशिया, अफ्रिका र क्यारिबियनसहित विश्वका धेरै भागहरूमा उब्जाउ गरिन्छ, जहाँ न्यानो हावापानीले यसको वृद्धिलाई बढावा दिन्छ । मेवा नासपाती आकारको फल हो जुन आकारमा फरक–फरक हुन्छ, केही प्रजाति २० इन्चसम्म लामो हुन्छन् । पाकेको बेला यसको बोक्रा हरियोदेखि सुनौलो पहेंलोसम्म हुन्छ, जबकि भित्री फलभाग सामान्यतया चम्किलो सुन्तला वा गुलाबी–रातो हुन्छ जसको बीचमा साना कालो बीउहरूको समूह हुन्छ ।
मेवा एक पौष्टिक शक्तिगृह हो । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । एउटा मेवामा दैनिक आवश्यक पर्ने भिटामिन सी २०० प्रतिशतभन्दा बढी उपलब्ध हुन सक्दछ । भिटामिन सी को उच्च मात्रा हुने हुँदा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र संक्रमणहरूसँग लड्न मद्दत गर्छ । यसमा पाइने भिटामिन एले स्वस्थ छाला र दृष्टि कायम राख्न मद्दत गर्छ । यसैगरी यसमा अन्य फाइदाजनक तत्त्वहरू जस्तो कि फोलेट, उच्च फाइबर र पोटासियम आदिले मुटुको स्वास्थ्य र पाचन स्वास्थ्य सुधार गर्न र कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ । पाचन प्रणालीमा यसले प्राकृतिक इन्जाइमका रूपमा कार्य गर्छ जस्तो कि खानामा भएको प्रोटिनलाई टुक्य्राएर पचाउन मद्दत गर्छ । कम क्यालरीयुक्त भएकाले शरीरको तौल बढ्न दिँदैन । यो उच्च एन्टिअक्सिडेन्ट युक्त हुन्छ । सन्तुलित आहारका लागि अति नै महत्त्वपूर्ण हुन्छ । बीटा–क्यारोटिन र फ्लेभोनोइडजस्ता शक्तिशाली एन्टिअक्सिडेन्टहरूले शरीर सुनिन कम गर्छ । साथै जलन प्रतिरोधी गुणहरूले गर्दा दीर्घकालीन रोगहरूको जोखिमसमेत कम गर्न सक्छ । मेवामा हुने पोषक तत्त्वहरूले बुढ्यौलीका लक्षणहरू कम गर्न र छालाको रङ्ग स्वस्थ र चम्किलोपन बढाउन मद्दत गर्छन् ।
पाकेको मेवा सामान्यतया ताजा खाइन्छ । फलफूलको सलादका रूपमा वा अन्य पेय वा मिष्ठान्नहरूमा मिठाईहरूमा मिसाई प्रयोग गरिन्छ । हरियो (कच्चा) मेवा पकाई स्वादिष्ट परिकारहरू तयार गर्न सकिन्छ । कुनै देशका निश्चित समुदायमा त यसको बियाँ केही पीरो र तीतो भए पनि सुकाएर मसलाको रूपमा प्रयोग गर्ने गरिन्छ जुन स्वास्थ्यका लागि समेत फाइदाजनक मानिन्छ । अन्य प्रयोगहरू पनि धेरै छन् । जस्तो कि मासु पकाउँदा नरम बनाउनका लागि यसलाई प्रयोग गरिन्छ । परम्परागत औषधिमा ग्यास्ट्रोइंटेस्टाइनल समस्याहरूको उपचार गर्न प्रयोग गरिन्छ । कुनै समुदायमा त डेंगी ज्वरो निको हुन मद्दत गर्ने विश्वास गरी यसको पातको चिया बनाएर खाने गरिन्छ । कच्चा मेवाको फलमा पाइने मेवाको रस वा लेटेक्स, घाउ निको पार्ने, पाचन सहायता गर्ने र प्राकृतिक कीटनाशकका रूपमा पनि विभिन्न प्रयोगहरू गर्ने गरिन्छ । मेवाको चोप परम्परागत रूपमा छालाको अवस्था जस्तै घाउखटिरा र दादका लागि प्रयोग गरिन्छ । शायद यी सबै उपयोगिताले हुनसक्छ हिन्दु धर्मशास्त्रअनुसार कार्यहरू गर्दा भगवानलाई नैवेद्य चढाउन फलफूल मिष्ठान्नलाई मेवामिष्ठान्न भन्ने गरिन्छ ।
यति मह वपूर्ण र पौराणिक कालदेखि प्रयोगमा आएको यति गुनिलो फल नेपालमा उपभोग गरिने भए तापनि विदेशबाट आयात गर्ने गरिएको छ । यसको उत्पादनका लागि हावापानी पनि उपयुक्त छ । यस लेखमा मेवा फल विगत ५ वर्षदेखिको आयात प्रवृत्ति, केकति परिमाण र मूल्यमा आयात भएको रहेछ, राजस्व प्राप्ति लगायतका तथ्याङ्क प्रस्तुत गर्ने प्रयास गरिएको छ । यसमा भन्सार विभागको वैदेशिक व्यापार तथ्याङ्कलाई आधार मानिएको छ ।
विगत ५वर्षमा भएको मेवाको आयात तथ्याङ्क हेर्दा आव २०७६/७७ देखि हालसम्म निरन्तर रूपमा वृद्धि हुँदै गएको देखिन्छ । आव २०७६/७७ मा ५ हजार २ सय १९ मेट्रिक टन आयात भएकोमा आव २०८०/८१ मा आइपुग्दा ८ हजार ९ सय ७ मेट्रिक टन आयात भएको छ । चालू आवको प्रथम नौ महीनामा ६ हजार ३ सय ५३ मेट्रिक टन आयात भइसकेको छ । आयात मूल्यका हिसाबले आव २०७६/७७ मा रू. १८ करोड ८ लाख मूल्यको आयात भएकोमा आव २०८०/८१ मा आइपुग्दा रू. ३० करोड २४ लाख मूल्यको आयात भएको छ । चालू आवको प्रथम ९ महीनामा रू. २० करोड ९० लाख मूल्यको आयात भइसकेको छ । आयात भएको मेवाको प्रतिकेजी आयात मूल्य रू. ३३ देखि ३५ देखिन्छ । मेवा आयातबाट आव २०७६/७७ मा करीब रू. १ करोड राजस्व प्राप्त भएकोमा आव २०८०/८१ मा आइपुग्दा साढे ४ करोड रुपैयाँभन्दा बढीको राजस्व प्राप्त भएको छ । चालू आवको प्रथम ९ महीनामा करीब रू. ४ करोड राजस्व प्राप्त भइसकेको छ ।
नेपालमा आयात हुने सबैजसो मेवा भारतबाट आयात हुने गरेको छ । हालसम्म नेपालबाट मेवा निर्यात भएको रेकर्डमा देखिँदैन ।
(लेखक तथ्याङ्कशास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।)