काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा बढी क्षमताका ५४ जलविद्युत आयोजनाका लागि विद्युत खरीद विक्री सम्झौता (पीपीए) खुला गरेको छ ।
प्राधिकरणले बुधवार (आज) सूचना जारी गर्दै गत चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका आयोजनाका लागि पीपीए खुला गरेको हो ।
विद्युत प्राधिकरणको व्यवस्थापनको वैशाख ३० गतेको बैठकले उक्त निर्णय गरेको सूचनामा उल्लेख छ । पीपीएका लागि भने ३० दिनको समयसीमा तोकिएको छ ।
पीपीएका लागि खुला गरिएका ५४ आयोजनामध्ये ३८ नदी प्रवाही (रन अफ रिभर) छन् भने १६ अर्धजलाशययुक्त छन् । ती आयोजनाहरूको कुल जडित क्षमता ४ हजार ९६६ मेगावाट छ ।
सन् २०३५ सम्म नेपालको कुल विद्युत जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउन उक्त सम्झौताको प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ ।