विराटनगर । राष्ट्रिय वाणिज्य बैंकले विराटनगरको औद्योगिक घराना मगन्तुराम अग्रवाल समूहको नौओटा उद्योग र व्यापारिक प्रतिष्ठानका नाममा रहेको अचल सम्पत्ति लिलाम गर्न दोस्रोपटक सूचना निकालेको छ । चार वर्षअघि पनि बैंकले लिलामी सूचना निकालेको थियो । त्यसबेला अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेकाले लिलामी प्रक्रिया रोकिएको थियो ।
यसपटक बैंकले ३५ दिने सूचना निकालेर ऋणीहरूलाई उक्त अवधिभित्र कर्जा चुक्ता गर्न भनेको छ । उक्त अवधिमा कर्जा चुक्ता नगरे ३६औं दिनदेखि धितोको सम्पत्ति विक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ । म्यादभित्र कर्जा चुक्ता नगरे नौओटा फर्म/कम्पनीको धितो १ अर्ब ४ करोड ५५ लाख ७६ हजार ९६० रुपैया ९२ पैसा न्यूनतम रकम तोकेर लिलामी हुने सूचनामा उल्लेख छ । बैंकले गोरखापत्रमा सूचना प्रकाशित गरेर लिलामी प्रक्रिया अघि बढाएको हो ।
- ३५ दिनभित्र ऋण तिर्न सूचना, नतिरे ३६औं दिनदेखि ५०औं दिनसम्म धितो लिलामीमा सामेल हुन इच्छुकलाई आह्वान
- धितो लिलामीका लागि न्यूनतम मूल्य १ अर्ब ४ करोड ५५ लाख ७६ हजार ९६० रुपैयाँ ९२ पैसा
- २०६० सालमा टाट पल्टेको यो समूह २०६२ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा
‘कर्जा लिने ग्राहकले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुरसमेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिनुहुन सम्बद्ध ऋणी तथा धितोदातालाई यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ बैंकको सूचनामा भनिएको छ । ‘उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा यसै सूचनाबमोजिम लिलाम विक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकूल समयमा बैंक आफैले सकार गरिलिने बेहोरासमेत जानकारी गराइन्छ ।’
बैंकले सूचना प्रकाशित मितिले ३५ दिनभित्र चुक्ता नभए कर्जाका लागि बैंकमा धितो सुरक्षणमा रहेको अचल सम्पत्ति लिलाम विक्री गर्ने भन्दै किन्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ३६औं दिनदेखि ५०औं दिनभित्र बैंकको विराटनगर शाखामा सिलबन्दी बोलपत्र पेश गर्न सक्ने बताएको छ ।
बैंकका विराटनगर शाखा प्रमुख उमेश नेपालले मगन्तुराम समूहको ऋण असुलउपर गर्न धितो लिलामी प्रक्रियास्वरूप बैंकले ३५ दिने सूचना निकालेको बताए । म्यादभित्र साँवाब्याज र जरीवाना नतिरे लिलामी प्रक्रियामा जाने र त्यो सबै प्रक्रिया विराटनगर शाखाबाटै हुने उनले बताए । लिलामी प्रक्रियाको अन्तिम घोषणा भने केन्द्रीय कार्यालयबाट हुने उनको भनाइ छ । यसअघि पनि लिलामी प्रक्रियाका लागि सूचना प्रकाशित भएको विषयमा उनले अनभिज्ञता प्रकट गरे ।
२०६० सालमा टाट पल्टेको यो समूहलाई बैंकले २०६२ असारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखेको थियो ।
बैंकले यो समूहअन्तर्गतका अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल, गणेश प्लास्टिक, जयकाली बिस्कुट, दन्तकारी प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरन, घटस्थापना इन्टरप्राइजेज, फूलपाती इन्टरप्राइजेजलगायत उद्योगमा ८७ करोड २४ लाख ३६ हजार रुपैयाँ ऋण लगानी गरेको थियो । ती टर्म लोन, बिल्स पर्चेज, क्यास क्रेडिट, औद्योगिक सामान तथा बैंक जमानत शीर्षक आदिमा प्रवाह भएका कर्जा हुन् ।
त्यो ऋणको साँवाब्याज र हर्जना गरी हाल १ अर्ब ३८ करोड रुपैयाँ पुगेको बताइएको छ । बैंकले मगन्तुराम समूहका व्यक्तिहरूका नाममा रहेको धितो सम्पत्तिको न्यूनतम मूल्य १ अर्ब ४ करोड ५५ लाख ७७ हजार रुपैयाँ तोकेको छ ।
मगन्तुरामका माहिला छोरा सुरेश बैंकको ऋण तिरेर सम्पत्ति फिर्ता ल्याउने प्रयत्नमा छन् । ‘हाम्रो समूहले बैंकबाट ८७ करोड २४ लाख ३६ हजार ऋण लिएको हो । ब्याज छूटका लागि अनेक प्रयत्न गर्यौं तर पार लागेन,’ उनले भने‚ ‘साँवा, ब्याज र हर्जना गरेर अहिले १ अर्ब ३८ करोडजति ऋण पुगेको छ ।’
उनका अनुसार घर, उद्योग र गोदाम रहेको धरान–विराटनगर मार्गसँग जोडिएको करीब ४० बिगाहा जग्गा र अन्य अचल सम्पत्ति छ । अहिलेको मूल्यांकनमा २ अर्ब रुपैयाँको सम्पत्ति छ । त्यो विक्री गर्न पाउने हो भने बैंकको सबै ऋण तिरेर पुनः उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहने उनले बताए । उनले भने, ‘तर, सबै जायजेथा बैंकको नियन्त्रणमा रहँदा समस्या भएको हो ।’
मोरङको टंकीसिनवारीमा अन्नपूर्ण आइरन, गणेश प्लास्टिक, लक्ष्मी फुटवेयर, शान्ति फुटवेयरलगायत उद्योगको नाममा रहेको ३५ करोड ६७ लाख मूल्यको सम्पत्ति, सुनसरीको दुहबीमा अन्नपूर्ण सोपको नाममा रहेको १८ करोड ४९ लाखको जायजेथा, दुहबीमै कृष्णकुमारको नाममा रहेको ३ करोड ७५ लाख र दामोदरको नाममा रहेको ३ करोड ९० लाख पुरानो मूल्यांकनको चल–अचल सम्पत्ति, मगन्तुराम, सुरेश र दामोदरको नाममा रहेको ९ करोड ७० लाख मूल्यको सम्पत्ति, मगन्तुरामको एकल स्वामित्वमा रहेको विराटनगरको ६७ लाख २९ हजार मूल्यांकनको जायजेथा, सुबोध, नारायण, सुमन र शान्तिदेवीको नाममा रहेको विराटनगरको ९ करोड ३९ लाख मूल्यको सम्पत्ति र सुबोधको एकल स्वामित्वमा रहेको विराटनगरको ४ करोड १५ लाख पुरानो मूल्यांकनको सम्पत्ति बैंकले लिलामी सूचीमा राखेको छ । लिलामी प्रक्रियाबाट लगानी असुल गर्ने योजनामा रहेको बैंकले बताएको छ ।
यसरी ध्वस्त भयो औद्योगिक साम्राज्य
४० को दशकमा उदाएको औद्योगिक घराना व्यवस्थापनमा भएको कमजोरीले धराशयी बन्दै गयो । अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिज स्थापना गरी साबुन उत्पादन गरेर आर्थिक उपार्जनको ग्राफमा उकालो लागेको समूह ६० को दशकमा आइपुग्दा ओरालो लाग्यो । उद्योग सञ्चालन गर्न नसकेपछि उक्त समूहका एकजना सञ्चालक भारत पलायन भए ।
उक्त समूहका फर्म/कम्पनीहरू लामो समयदेखि बन्द छन् । उद्योगहरू खण्डहर बनेका छन् ।
महेन्द्र मोरङ कलेजका विद्यार्थी मगन्तुराम अग्रवालले २०४० को दशकमा व्यापारमा हात हाले । उद्योगी सुशील धनावतसँगको सहकार्यमा आयातनिर्यात गरिरहेका उनले २०४० को दशकमा पशुपति सोप एन्ड केमिकल इन्डस्ट्रिज सञ्चालनमा ल्याए । उक्त उद्योग उनका भतिजा शंकरलाल अग्रवाल र सुशील धनावतले सञ्चालन गर्दै आएका थिए । तीन जनाको सहकार्यमा रहेको उद्योगमा शंकरलालले गडबडी गरेपछि सुशील र मगन्तुराम आआफ्नो अंश लिएर निस्किए । त्यसपछि मगन्तुरामले दुहबीमै अन्नपूर्ण सोप खोले भने धनावतले टंकीमा हिमालय सोप नामक उद्योग सञ्चालन गरे । अहिले तीनओटै सोप उद्योग बन्द छन् ।
साबुन उद्योगमा मगन्तुरामको एकछत्र राज थियो, ऊबेला । धेरै उद्योगमा उनका प्रतिस्पर्धी नै थिएनन् । मगन्तुराम समूह व्यावसायिक घरानाका रूपमा स्थापित भइसकेको थियो । उनका जेठा छोरा सुबोधकुमारले अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिज प्रालिको व्यवस्थापन जिम्मा लिएका थिए । सामान्य आर्थिक अवस्था भएका मगन्तुरामले अन्नपूर्ण सोप एन्ड केमिकल उद्योग खोलेपछि निकै राम्रो आर्थिक हैसियत बनाए । उनलाई बैंकले सफल उद्योगीका रूपमा पत्यायो । त्यही छविका कारण उनले थप उद्योग खोल्दै गए । आफ्ना पाँच छोरालाई एउटा एउटा उद्योग जिम्मा दिँदै गए । २०५३ सालमा सातओटा उद्योग र दुईओटा व्यापारिक फर्मबाट कारोबार गर्दा सुनसरी मोरङ औद्योगिक कोरिडोरमा मगन्तुराम समूहको सबै क्षेत्रमा राम्रै वर्चस्व थियो । साबुन र फलामे डन्डी उद्योगमा उनीहरूको प्रतिस्पर्धी नै थिएन । नारायण भेजिटेलब इन्डस्ट्रिजले कच्चा पाम आयात गरी त्यसलाई प्रशोधन गरेर भारत निर्यात गर्थ्यो । पाम आयल निर्यातबाट राम्रो आम्दानी गरिरहेको उद्योगको तेलमा मिसावट भेटिएपछि २० करोडको झट्का लाग्यो, जुन मगन्तुराम समूहको ओरालो यात्राको शुरुआत बन्यो । इन्डोनेशियाबाट २०५७ सालमा कोलकाता बन्दरगाह आइपुगेको पाम आयलमा जनावरको बोसो मिसाइएको भेटिएपछि कोलकाता बन्दरगाहले उक्त पाम छाड्न मानेन । २० करोडमा मगाएको सामानमा निर्यातकर्ताले धोका दिएपछि मगन्तुराम समूहले २० करोड घाटा एकैपटक बेहोरेको थियो । मिसावट भएको पाम फिर्ता लगे पनि इन्डोनेशियाको व्यापारीले रकम फिर्ता नगरिदिएछि मगन्तुराम समूह ओरालो लाग्यो ।
एकैपटक ठूलो घाटा बेहोरेको उक्त समूह २०६० सालमा आइपुग्दा बैंकको ब्याज र ऋणबाट थलियो । तैपनि उद्योग बन्द भएका थिएनन् । व्यापार पनि चलिरहेकै थियो । २०६३ सालमा राजस्व अपचलन, भन्सार छली र ऋण तिर्न नसकेको अभियोगमा मगन्तुरामका छोरा जेठा सुबोध र माहिला सुरेशलाई प्रहरीले पक्राउ गर्यो । दुवै ४ वर्ष काठमाडौंमा जेल बसे । त्यसपछि बैंकले उक्त समूहको सबै अचल सम्पत्ति आफ्नो नाममा लग्यो । जेलबाट छुटेपछि सुबोधको परिवार भारत पलायन भयो । आफन्तहरू सुबोध कहाँ छन्, बताउँदैनन् । सुरेश कार्टुन र प्लास्टिक उद्योग चलाएर बसेका छन् । मगन्तुरामका साहिँला छोरा किसन कोलकातामा छन् । काहिँला दामोदर भारतको पश्चिम बंगाल राज्यको सिलिगुडीमा छन् । मगन्तुराम दामोदरसँगै छन् । कान्छा नारायण भारतको पटनामा पसल चलाएर बसेका छन् ।