काठमाडौं। सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।
न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको हो ।
पाथीभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि यसअघि सर्वोच्चले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।
त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो । दुई पक्षको छलफलपछि डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन नपर्ने बताएको हो ।
यो आदेशसँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।
आइएमई ग्रुपको लगानीमा पाथीभरामा केवलकार निर्माणको काम अघि बढेको थियो ।