काठमाडौं । हिमालय आर्ट काउन्सिलले नेपाली कलालाई नक्कली प्रतिलिपिबाट जोगाउने, सही स्रष्टाको श्रेय दिने र विश्व बजारमा भरपर्दो रूपमा प्रस्तुत गर्ने प्रयासस्वरूप एक डिजिटल प्लेटफर्म तयार पारेको छ ।
कृत्रिम बौद्धिकता (आर्टिफियिल इन्टेलिजेन्स) र ब्लकचेन प्रविधि प्रयोग गरेर मुख्य स्रष्टाको पहिचान स्थापित गर्ने हिसाबले यो प्लेटफर्म तयार पारिएको काउन्सिलले बताएको छ ।
यस प्रयासबाट कलाकृतिको संकलक, कलाकार र अध्येताहरू तथा सर्वसाधारण सबैलाई सहयोग पुग्ने काउन्सिलको भनाइ छ ।
- एआईको प्रयोगबाट नक्कली कला छुट्ट्याउन सकिने र कलाकारले हस्ताक्षर नै नगरेको चित्र भए पनि कृतिहरूको सम्भावित स्रष्टा पहिचान गर्न सघाउने हुनाले यो प्लेटफर्मले कलाकारलाई आफ्नो कामको उचित श्रेय सुनिश्चित गर्नेछ ।
‘एआईको प्रयोगबाट नक्कली कला छुट्ट्याउन सकिने र कलाकारले हस्ताक्षर नै नगरेको चित्र भए पनि कृतिहरूको सम्भावित स्रष्टा पहिचान गर्न सघाउने हुनाले यो प्लेटफर्मले कलाकारको आप्mनो कामको उचित श्रेय सुनिश्चित गर्नेछ,’ काउन्सिलले भनेको छ । ‘संकलकले पनि कलाकृति कुन स्थानमा छ, यसको मूल्य कति हो र कति पुस्ताअगाडिको सम्पत्ति हो जस्ता विवरण डिजिटल प्रमाणपत्रका माध्यमबाट थाहा पाउन सक्छन् ।’
अध्येता र सर्वसाधारणले पनि इन्टरनेटमै हेरेर कलाकृतिबारे गहिरो अध्ययन गर्न पाउनेछन् । नेपाली कलाको गहिरो अर्थमा पहुँच बढाउन अनुवाद, डिजिटल गाइड र शिक्षामूलक उपकरणहरू उपलब्ध गराइने काउन्सिलले बताएको छ ।
हिमालयन आर्ट काउन्सिलकी क्युरेटर मीना लामाले कलाकृतिको मात्र नभई कलाकारको पनि रक्षा र उनीहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्य राखी यो प्रसास गरिएको बताइन् । आर्ट काउन्सिलको एआई र ब्लकचेन प्रमाणीकरणको माध्यमबाट नक्कली चित्रहरू पत्ता लगाई वास्तविक कलाकारको सम्मान हुने र उनीहरूलाई स्थापित हुन र आर्थिक उपार्जन गर्न सघाउ पुग्ने उनको भनाइ छ ।
नेपालको सांस्कृतिक सम्पदामा कलाकारको योगदानलाई सम्मान गर्ने प्रणालीहरू स्थापित गर्ने हो भने त्यसले नेपालको कला अर्थतन्त्रलाई अगाडि बढाउन योगदान गर्ने लामाको भनाइ छ ।
थांका र पौभा पेन्टिङमा दशकौं समय खर्चिएका कलाकार कैलाश श्रेष्ठले एआई र ब्लकचेन प्रविधिको प्रयोग गरेर सक्कली र नक्कली कलाकृति छुट्ट्याउने प्रयासले कृतिका वास्तविक सर्जकलाई सहयोग पुग्ने बताए । ‘अब पहिलोपल्ट जब कसैले ग्यालरीमा पौभा चित्र हेर्छ र घरको लागि थांका किन्छ भने कसले किन त्यो कला बनाएको हो थाहा पाउँछ,’ उनले भने ।
भोलि थांका र पौभा कला प्रदर्शनी
हिमालयन आर्ट काउन्सिलले २०२५ मे १५ (जेठ १ गते अर्थात् भोलि) मा पाटन संग्रहालयमा ‘थांका र पौभा कला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । यो प्रदर्शनीले नेपालको पवित्र चित्रकला परम्पराको गहिरो सांस्कृतिक मूल्यलाई उजागर गर्नेछ । पाटन दरबार क्षेत्रस्थित संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ ।
नेपालका ५० भन्दा बढी कलाकारहरूका मौलिक कृतिहरू उक्त प्रदर्शनीमा राखिने काउन्सिलले बताएको छ ।