काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिब हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा शुरु गरेको छ ।
यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्ने बैंकले जानकारी दिएको छ ।
अब सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेमार्फत ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका संस्थाहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन् ।
यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको र पेमेन्टमा आधुनिक प्रविधिको प्रयोगले कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउने बैंकको भनाइ छ ।
डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउन र बैंकका मर्चेन्टहरूलाई व्यापारिक दृष्टिकोणबाट थप सहयोग पुर्याउन यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।