काठमाडौं । चीनको एन्ट समूहले भारतीय विद्युतीय कारोबार कम्पनी पेटीएममा रहेको आफ्नो शेयरमध्ये ४ प्रतिशत शेयर बेच्ने भएको छ । उसले पेटीएमको ४ प्रतिशत २४ करोड २० लाख अमेरिकी डलरमा बेच्न लागेको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ । एन्ट समूह चिनियाँ कम्पनी अलीबाबा ग्रुपसँग सम्बद्ध समूह हो ।
एन्टले आज (सोमवार) भारतीय शेयर बजार बन्द हुँदा पेटीएमको शेयरको अन्तिम कारोबार मूल्यमा १० प्रतिशत छुट दिएर भारु ८०९.७५ प्रतिशेयरको दरमा बेच्न लागेको रोयटर्सले उल्लेख गरेको छ ।
तर पेटीएमको उक्त शेयरको खरीदकर्ता भने खुलाइएको छैन । पेटीएम र एन्ट समूह दुवैले शेयर विक्रीबारे तत्काल केही बताउन नचाहेको पनि रोयटर्सले उल्लेख गरेको छ । गएको २ वर्षमा वारेन बफेटको बर्कशायर ह्याथवे र जापानको सफ्टबैंक समूहले पनि आफ्नो शेयर बेचेर पेटीएमबाट बाहिरिई सकेका छन् ।
एन्ट समूहले सन् २०२३ अगस्टमा पनि पेटीएममा रहेको उसको शेयरमध्ये १०.३ प्रतिशत शेयर संस्थापकसमेत रहेका पेटीएमकै प्रमुख कार्यकारी अधिकृत विजयशेखर शर्मालाई बेचेको थियो ।