सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँ अन्त्य भएर सप्ताहान्तमा भएको युद्धविरामपछि भारतले सोमवार ३२ वटा विमानस्थल पुनः खुला गरेको छ ।
भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित कश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ उडानका लागि खुला गरिएको छ ।
भारत र पाकिस्तानबीच ४ दिनसम्म भीषण लडाइँ भएपछि गत साता ती विमानस्थल भारतले बन्द गरेको थियो । विमानस्थल बन्द गरेसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता उत्पन्न भएको थियो । प्रमुख भारतीय एयरलाइन्स इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः उडान सञ्चालन शुरु गर्ने’ बताएको छ ।
युद्धविरामको घोषणा शनिवार गरिएको थियो तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप गरेका थिए । यद्यपि भारत र पाकिस्तान दुवैले सोमवार भने सीमावर्ती क्षेत्र शान्त रहेको बताएका छन् । रासस/एएफपी