काठमाडौं । अमेरिका र चीनले एकअर्का देशमाथि थपेको भन्सार शुल्क आगामी ९० दिनका लागि स्थगित गर्न सहमत भएका छन् । दुवै देशले सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै पारस्परिक शुल्क ११५ प्रतिशतले घटाउने सहमति गरेका हुन् ।
यससँगै अमेरिकामा चीनबाट आयात हुने वस्तुहरूमा अब ३० प्रतिशत शुल्क लाग्नेछ भने चीनमा अमेरिकी वस्तु आयातमा १० प्रतिशत शुल्क लाग्नेछ । उक्त सहमति आगामी बुधवारबाट लागू हुने बताइएको छ ।
अमेरिकाले गत अप्रिलमा चीनबाट आयात गरिने वस्तुहरूमा लाग्ने शुल्क बढाएपछि चीनले पनि अमेरिकी वस्तु आयातमा लाग्ने शुल्क बढाएको थियो । अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा लाग्ने शुल्क ३० % बाट १४५ % पुर्याएको थियो भने चीनले अमेरिकाबाट आयात गरिने वस्तुहरूमा लाग्ने शुल्क १० % बाट १२५ % पुर्याएको थियो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको पारस्परिक शुल्क ९० दिनका लागि स्थगित गर्ने सहमति भएको जानकारी दिए । चीनको वाणिज्य मन्त्रालयले पनि अमेरिकासँगको पारस्परिक शुल्क तत्कालका लागि स्थगित गरिएको जानकारी दिए । एजेन्सीको सहयोगमा