जेनेभा । ४ महिना लामो व्यापार विवाद सुल्झाउन जेनेभामा हिजो शुरू भएको अमेरिका-चीन वार्ता आज पनि जारी छ ।
चिनियाँ वार्ता टोलीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ह लिफङले हिजो अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरसँग ८ घण्टा लामो वार्ता गरेका थिए । अमेरिका-चीनबीच व्यापारिक अवरोध उत्पन्न भएपछि दुवै देशका अधिकारीहरू बसेर वार्ता गरेको यो नै पहिलो हो ।
हिजो ८ घण्टा लामो वार्ता भए पनि दुवै पक्षले वार्तामा के के विषयमा छलफल भयो सञ्चारमाध्यमलाई कुनै जानकारी दिएनन्‚ न त व्यापारिक अवरोध तत्कालै हट्ने कुनै संकेत नै गरे ।
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सौहार्द्रपूर्ण वातावरणमा दुवै पक्षले रचनात्मक वार्ता भएको’ उल्लेख गरेका थिए । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ‘स्वीट्जरल्याण्डमा चीनसँग राम्रो वार्ता भयो । धेरै विषयमा छलफल भयो‚ अधिकांशमा सहमति भयो’ उल्लेख गरेका थिए ।
उनले ट्रुथमा ‘हामी चीन र अमेरिका दुवैको फाइदाका लागि चीनले अमेरिकी व्यापारको ढोका खोलोस् भन्ने चाहन्छौँ । राम्रो प्रगति भयो !!!’ उल्लेख गरेका थिए तर उनले कस्तो प्रगति भयो भन्ने विस्तृत जानकारी भने नदिएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
वार्ता जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्वीट्जरल्याण्डका राजदूतको निवासमा भइरहेको छ । संयुक्त राष्ट्र संघका लागि स्वीट्जरल्याण्डका राजदूतको निवासमा निजी पार्कसमेत रहेको छ‚ जहाँबाट लेक जेनेभाको दृश्यावलोकन गर्न सकिन्छ । अमेरिका-चीन व्यापार अवरोध चर्कँदै गएपछि समस्या समाधानका लागि स्वीट्जरल्याण्डले दुवैलाई जेनेभामा वार्ता गर्न सहमत गराएको थियो ।