पेकिङ । तिब्बतमा आज (सोमवार) विहान साढे ५ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार विहान ५ बजेर ११ मिनेटमा तिब्बती शहर सिगात्सेमा भूकम्प गएको चाइना अर्थक्वेक एडमिनिस्ट्रेशन (सीईए)ले जनाएको बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
भूकम्पलगत्तै आपत्कालीन निकायहरू परिचालन गरिएको तर कोही घाइते भएको वा कसैको मृत्यु भएको जानकारी नपाएको पनि सीईएले जनाएको छ । सीईएका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटरमुनि रहेको थियो ।
गएको जनवरीमा तिब्बतको तिङ्ग्री काउन्टीमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा १२० जनाभन्दा बढीको मृत्यु भएको थियो । तिङ्ग्री सिगात्सेबाट २४० किलोमिटरमात्र टाढा रहेको छ ।